बिर्तामोड, पुष २६। कटेरोबाट स्थापना भएको बिर्तामोड ३ अनारमनीस्थित महेन्द्ररत्न माध्यमिक विद्यालय जिल्लाकै नमूना विद्यालयको रुपमा विकसित भएको छ ।

भौतिक तथा व्यवस्थापकीय सुविधासंगै विद्यालयको शैक्षिक स्तरसमेत स्तरीय रहेको छ । २०१४ सालमा स्थापना भई लामो इतिहास रच्न सफल यस विद्यालयले आज ६६ औं वार्षिक उत्सव मनाउँदैछ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यमा विद्यालयले वार्षिक उत्सव मनाउन लागेको हो ।

त्यस अवसरमा अभिभावक दिवस, बृहत साँस्कृतिक कार्यक्रम, शिक्षक सम्मान तथा बिदाइ समारोह गरिने विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेलले जानकारी दिए । उनका अनुसार पाँच जना उत्कृष्ट शिक्षकलाई सम्मान गरिने भएको हो । त्यस्तै दीर्घसेवा सम्मानबाट ६ जनालाई सम्मानित गरिने भएको छ । सम्मानित हुनेहरुमा भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष राजकुमार पोखरेल , पुष्प पौडेल , तुलसा सिटौला , विजय उप्रेती , नेत्र खरेल र चन्द्र प्रसाई रहेका छन् । त्यस्तै विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरुलाई पनि सम्मान गरिने भएको छ । सम्मानित हुनेहरुमा लोकबन्धु कन्दङ्वा , निरा प्रधान , ठगबहादुर खड्का , रामनारायण चौधरी , स्व. लक्ष्मण खड्का र स्व. पर्शुराम सिटौला रहेका छन् । त्यस्तै पूर्व प्रधानाध्यापकहरु देवेन्द्र गौतम , मोहन पायम र मोहनप्रसाद ओली तथा अवकाश प्राप्त शिक्षकहरु दिलकुमार मुखिया , विजय ओली , कृष्णप्रसाद तिम्सिना र रविन शर्मालाई पनि सम्मान गरिने भएको छ । सोही अवसरमा १० लाखको स्व. सुरेश पाठक स्मृति अक्षय कोष स्थापना गर्ने कार्यक्रम रहेको छ ।

वार्षिकोत्सवकै अवसरमा नगरस्तरीय महेन्द्ररत्न ताराको सिजन २ हिजो सम्पन्न भएको छ । त्यस गायन प्रतियोगितामा देवी माविका अभिशेख कटुवाल प्रथम , सांगवेद माविका अमित अधिकारी दोस्रो र मोहनमाया माविका विशेषता अधिकारी तेस्रो भएका छन् । उनीहरुलाई क्रमशः ५ हजार , ३ हजार र २ हजार नगद प्रदान गरिने भएको छ । बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शिक्षा शाखा प्रमुख तिलचन भण्डारी , वडाध्यक्ष मदन बुढाथोकीलगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष टंकप्रसाद सेढाईले गरेका थिए । विद्यालयको ऐतिहासिक पृष्ठभूमि हेर्दा यसको शुरुवात शारदा प्राथमिक स्कुलको रूपमा स्व.भूपालमान सिंह कार्कीबाट स्थापना भई सञ्चालन भएको पाइन्छ ।

समाजवादी चिन्तक भरतबाबु (सि.के.प्रसाई ) जसले यस विद्यालयको भवन निर्माण गरी महेन्द्ररत्न मल्टि पर्पस मिडिल स्कुललाई जीवन्त शैक्षिक संस्थाका रूपमा स्थापित गरेका थिए । विद्यालयलाई भक्तसिंह राजवंशी, पुष्पलाल चौधरी, शुकदेव चौधरी,खन्जनसरी राजवंशी, गौरवती राजवंशी,ढालसरी राजवंशी,कृष्णदेव राजवंशी गरी ८ जना जग्गादाताहरुले करिब २४ विगाह जग्गा दान दिएका थिए । विद्यालयले दुईवटा नमूना भवन निर्माण कार्य पुरा गरिसकेको प्रअ खरेलले बताए । उनका अनुसार विद्यालय हाताभित्र मोटरसाईकल तथा साईकल स्टेन, निर्माण भई सञ्चालनमा आएको छ । त्यस्तै अटिजम स्रोत कक्षा स्थापना भई सञ्चालन भइरहेकोमा स्रोत कक्षाबाहिर ट्रससहितको खेल सामग्री भवनसमेत निर्माण भई सञ्चालनमा आएको उनले जानकारी दिए ।अटिजम स्रोत कक्षामा हाल १८ जना बालबालिकाहरु अध्ययनरत छन् । विद्यालयको कक्षाकोठामा प्रतिकोठा ४ वटाको दरले विद्युतिय पंखा जडान भएको छ भने सीसी क्यामेराको आवश्यक प्रवन्ध गरी सञ्चालन भएको खरेलले जानकारी दिए । त्यस्तै फूलबारीको थप व्यवस्थापन गरी आकर्षक बनाइएको छ ।

हाल विद्यालयमा विद्यार्थी संख्या १९४४ जना रहेको छ भने शिक्षकहरुमा मा.वि.१२ , विहानीसत्र ३६ , आधारभूत ३६ , पूर्व प्राथमिक ९, नगरपालिकाको स्रोत २, निजी स्रोत ३, प्रदेश सरकार १ गरी जम्मा ९९ जना रहेका छन् ।त्यस्तै
कर्मचारी नर्स १, आया२, सरसफाई २, बस चालक २, लेखा तथा पुस्तकालय ५,सुरक्षागार्ड २ सहित शिक्षक तथा कर्मचारी गरी जम्मा ११३ जना रहेको प्रअ खरेलले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्