झापा,पुष २६ । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि सीमावर्ती क्षेत्रमा प्याज तस्करी मौलाएको छ । भारतको बिहार र बंगाल दुवै राज्यबाट तस्करी भएर प्याज नेपाल आइरहेको प्रहरीले जनाएको छ । भारतीय र नेपाली तस्करको समूहले ठूलो मात्रामा प्याज भित्र्याइरहेको हो । सीमा क्षेत्रका अधिकांश सर्वसाधारण भारतबाट आयातित प्याजको भरमा छन् ।

गत ७ डिसेम्बरदेखि आगामी ३१ मार्चसम्म भारतले प्याजको निकासी प्रतिबन्ध लगाएको थियो । आसन्न लोकसभा चुनाव अघि मुद्रास्फीति नियन्त्रणका लागि भारतीय केन्द्र सरकारले यो कदम चालेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । वैदेशिक व्यापार महानिर्देशनालयले हालै एक सूचना जारी गरी प्याजको निकासी नीतिलाई ‘निःशुल्क’ बाट ‘निषेधित’मा रुपान्तरण गरिएको जनाएको छ ।

विराटनगर भन्सारबाट दुई सातायता प्याजको आयात ठप्प छ । भन्सारको बाटोबाट ल्याउँदा राजश्व तिर्नुपर्ने भएकाले तस्कर समूहले तस्करी गर्दै आएको दाबी सुरक्षा निकायको छ । त्यही क्रममा प्याज बरामद गरेको हो । मेची भन्सार कार्यालय काँकडभिट्टाबाट चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म १ करोड ८५ लाख बढी मूल्यको प्याज आयात भएको थियो । भारतको प्रतिबन्धपछि भन्सारको बाटोबाट एक दाना प्याज पनि भित्रिएको छैन । ‘उपभोक्ताले सीमापारि बजारबाट किनमेल गरेर ल्याएको पाइन्छ,’ एक भन्सार कर्मचारीले भने,‘तर, भन्सारको बाटोबाट प्याज आएको छैन ।’

करिब ९० प्रतिशत बढी माग भारतीय प्याजले धान्दै आएको छ । भारतको प्रतिबन्धपछि पनि नेपाली बजारमा प्याज छ्याप्छ्याप्ती छ । अधिकांश प्याज अवैध रुपमा आएको हो । व्यापारीले अवैध रुपमा भित्र्याएर महँगोमा बिक्री गरी उपभोक्ताको ढाड सेक्ने काम गरिरहेको देखिन्छ । नेपाली बजारमा प्याजको थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ छ । भारतमा थोक मूल्यप्रतिकिलो भारु ३० छ । खुद्रामा प्याज प्रतिकिलो १२० रुपैयाँसम्म पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्