बिर्तामोड, पुष २७ । बिर्तामोड उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा व्यवसायी राजकुमार घिमिरे (राजु) उम्मेदवार बन्ने भएका छन् ।


घिमिरेले संघको वरिष्ठ उपाध्यक्षमा स्वतन्त्ररुपमा उम्मेदवारी दिने मनसाय बनाएको बताए । उनी हाल संघको वाणिज्य उपाध्यक्ष हुन् ।

वाणिज्य संघ कुनै पनि पार्टीको राजनीति गर्ने थलो नभइ व्यवसायीको हितमा काम गर्ने संस्था हुनुपर्नेमा घिमिरेको जोड छ । आफू पार्टीगत नभइ स्वतन्त्र उम्मेदवार बन्ने बताउँदै उनले व्यवसायीले यस कुरालाई सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरे । व्यवसायीका विभिन्न प्रकारका कर र बैकिङ क्षेत्रका समस्या रहेपनि उनीहरुको हितमा वाणिज्य संघले कुनै काम गर्न नसकेको घिमिरेको गुनासो छ । बैठकमा व्यवसायीका समस्याको बारेमा पटक पटक कुरा उठाउँदा पनि सुनुवाइ नभएको भन्दै उनले वर्तमान नेतृत्वले राजनीतिबाहेक केहि गर्न नसकेको आरोप लगाए । बिर्तामोड उद्योग वाणिज्य संघलाई व्यवसायीको हितमा बनाउनको लागि अब आफूहरु अघि बढेको घिमिरेको भनाइ छ । कोभिडको समयदेखि थलिएको बजार हालसम्म उठ्न नसकेपछि धमाधम सटरहरु बन्द हुन थालेको भन्दै यस विषयमा नेतृत्व गम्भीर हुन जरुरी रहेको घिमिरेले बताए ।

राज सप्लायर्सका संचालक घिमिरे करिब ३० वर्षदेखि व्यवसाय क्षेत्रमा आवद्ध छन् । हाल अलैंची व्यवसायी महासंघको केन्द्रीय सदस्यसमेत रहेका घिमिरेले लायन्स क्लब अफ अनारमनीको अध्यक्ष हुँदा सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गरेवापत अवार्ड प्राप्त गरेका थिए ।

व्यवसायी घिमिरे २०५८ सालमा पाँचथरको रवि उद्योग वाणिज्य संघ (शाखा)को सचिब थिए ।सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध छन् । वाणिज्य संघको निर्वाचनमा रास्वपा र एमालेनिकट व्यवसायीबीच चुनावी एकता हुनसक्ने संभावना रहेको छ । एमालेनिकट नेपाल उद्योग तथा व्यवसायी महासंघका तर्फबाट वर्तमान महासचिव अर्जुनकुमार मैनालीले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्