झापा,पुष २७ । झापाको बाह्रदशी ५ मा रहेको गरिमा एग्रोले ५७ जना किसानलाई बर्खे धानको बीउ निःशुल्क बितरण गरेको छ ।

झापा क्षेत्र नम्बर ३ मा पर्ने कचनकवल, हल्दिवारी, बाह्रदशी गाउँपालिका र बिर्तामोड १० का ५७ किसानलाई प्रतिपरिवार २० के.जी.का दरले जम्मा ११ सय ४० के.जी. धानको बीउ एग्रोले निःशुल्क बितरण गरेको हो ।

शुक्रबार गोलधाप र बनियानीमा छुट्टाछुटै कार्यक्रमको आयोजना गरि गरिमा एग्रो कृषि फर्मका संचालक मानप्रकाश संग्रौलाले बीउ बितरण गरेका हुन् । “हर्दीनाथ एक” प्रजातिको उन्नत पहिलो पुस्ता धानको बीउ बितरण गरिएको संग्रौलाले बताए । एग्रोले बितरण गरेको बीउबाट उत्पादन भएको धान न्यूनतम १ हजार रुपैयाँ मनको दरले खरिद गरिदिने पनि उनले बताए । साथै राम्रो उत्पादन गर्ने ३ किसानलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको पनि संचालक संग्रौलाले जनाए । बाह्रदशी गाउँपालिका वडा नम्बर ५ घर भएका संग्रौला बिगत लामो समयदेखि कृषि व्यवसायमा आवद्ध छन् । उनले खेत जोत्ने ट्रयाक्टर र खाद्यान्न खरिद बिक्री गर्ने व्यवसाय गर्दै आएका छन् । संग्रौलाले गत प्रदेश सभाको निर्वाचनमा झापा क्षेत्र नम्बर ३ ख बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र अभियानमार्फत उम्मेद्वारी दिएका थिए ।

गरिमा एग्रोका संचालक संग्रौलाले अध्यक्षता गरेको कार्यक्रममा खाद्य संस्थान बिर्तामोडका प्रमुख तुलमाया लोहा प्रमुख अतिथि रहेकी थिइन् । कार्यक्रममा देवी ओझा, त्रिलोचन मैनाली, अर्पना कट्टेललगायतले शुभकामना मन्तव्य राखेका थिए । मुक्ति शर्माले स्वागत गरेको कार्यक्रमको संचालन धनेश्वर राजवंशीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्