झापा , पुष २८ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको भालुबाङमा पुलबाट यात्रुवाहक बस राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ ।

राति १ बजेसम्मको विवरण अनुसार ५ जनाको उपचारका क्रममा मृत्यु भएको थियो भने ७ जनाको शव जेसिविको सहायताले बसबाट बाहिर निकालिएको छ । दुर्घटनामा ११ पुरुष र एक महिलाले ज्यान गुमाएका हुन्।
काठमाडौंको चन्द्रागिरीका ताराकान्त पाण्डे, बाँके नेपालगञ्जका ६० वर्षीया कुसुम बस्नेत, जुम्लाका ४० वर्षीय मुनबहादुर राउत, मकवानपुरको हेटौँडाका ३९ सौरभ विष्ट, बाँकेका ३० वर्षीय रामवरण हरिजन र रुकुमका २५ वर्षीय दिपक कामीको मृत्यु भएको हो। यसैगरी भारतको बिहारका ६७ वर्षीय योगेन्द्र राम र उत्तरप्रदेशका ३१ वर्षीय मुनेको ज्यान गएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ।

मृतकमध्ये चारजनाको सनाखत हुन बाँकी रहेको कार्यालयकी प्रहरी जवान रेनु बोहराले जानकारी दिइन्। घाइते २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताइन्।
घाइतेमध्ये १४ जनाको कोहलपुर अस्पताल, सातजनाको बुटवलमा र दुईजनाको भालुवाङमा उपचार भइरहेको छ। चालक सकुशल रहेको र नियन्त्रणमा रहेको बोहराले जानकारी दिइन्।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति करिब साढे १० बजेतिर राप्ती नदीमा खसेको थियो।

भालुबाङको ट्राफिक बिट पार गरेको केहीबेरमा बस पुलको दायाँतर्फबाट पुलको रेलिङ भत्काएर नदीमा खसेको थियो । घटना के, कसरी भयो भन्नेबारे थाहा हुन नसकेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी जनकबहादुर मल्लले बताए । चालक प्रहरी नियन्त्रणमा रहेको उनले जानकारी दिए । घटनास्थलमा जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीसहित ३५ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल ज्वालामाई गण भालुबाङका प्रमुख एसपी गोपालप्रसाद श्रेष्ठसहित ४५ सशस्त्र प्रहरी र जिल्ला ट्राफिक प्रहरी प्रमुख किरणप्रकाश मल्लसहित ६ जना ट्राफिक प्रहरी उद्धारमा खटेको मल्लले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्