झापा, पुष २८ । श्रीमतीको हत्यासँगै २ जनालाई खुकुरी प्रहार गरी घाइते बनाएर फरार रहेका पाँचथर तुम्वेवा गाउँपालिका–४ निवासी असफल कुरुम्वाङलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई तुम्वेवा–५ पखेरे टोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक सुमित कुश्वाहाले जानकारी दिए ।
कुरुम्वाङले पुष २६ गते राति ८ बजे घरायसी विवादमा मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेस्थित माइती घरमा रहेकी ३५ वर्षीया श्रीमती गोमा फियाकको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

तुम्वेवा–४ स्थित घरबाट ससुराली पुगेका ३५ वर्षीय कुरुम्वाङले खुकुरी प्रहार गर्दा छिमेकी महेन्द्र श्रेष्ठ र गोमाकी आमा कान्छीमाया फियाक घाइते भएका छन् ।घाइते दुवै जनाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गोमा मिक्लाजुङ–३ स्थित माइती घरमै बस्दै आएकी थिइन् । कुरुम्वाङ दम्पतीबीच पारिवारिक बेमेल रहेको स्थानीय बताउँछन् । उनीहरूको विवाद मिलाउन बसेका बखत खुकुरी प्रहार भएको थियो ।
खुकुरी प्रहार गरी फरार रहेका कुरुम्वाङलाई आज बिहान ७ बजे जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवर नेतृत्वको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्