झापा,पुष २८ । नेपालमा कोरोना भाइरसको नयाँ सब–भेरियन्ट जेएन डट वान पुष्टि भएको छ ।

चिकित्सकका अनुसार जेएन डट वान ओमिक्रोन भेरियन्टको नयाँ स्वरूप हो । विश्व स्वास्थ्य सङ्गठन (डबलुएचओ) का अनुसार कोरोनाको नयाँ सब–भेरियन्ट जेएन डट वान हालसम्म नेपाल सहित विश्वका ४० भन्दा धेरै देशमा फैलिसकेको छ ।

नेपालमा कोरोनाको नयाँ सब–भेरियन्ट पहिलेको जस्तै फैलिने हो की भन्ने धेरैको आशङ्का छ । डबलुएचओले पनि यो भाइरसलाई कम घातका रूपमा वर्गीकरण गरेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिडको बिरामीको भर्ना र उपचार गराउने बिरामीको दर बढ्दै गएको छ ।

अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले अस्पतालमा पछिल्लो समय ज्वरो आउने, खोकी लाग्ने, नाकबाट सिगान बग्ने, घाँटी दुख्ने, शरीर दुख्ने र थकान लाग्ने जस्ता लक्षण लिएर बिरामी आउने गरेको जानकारी दिए ।

उनले भने,“पछिल्लो समय रुघाखोकी, खोकी लाग्ने, नाकबाट सिगान बग्ने, घाँटी दुख्ने, शरीर दुख्ने र थकान लाग्ने जस्ता लक्षण लिएर अस्पतालमा आउने गरेका छन् । यस्ता लक्षण सबै भाइरसजन्य रोगमा हुन्छ जाँच गरेपछि मात्र कोरोना हो या होइन पत्ता लगाउन सकिन्छ”

ज्वरो आउने, खोकी लाग्ने, नाकबाट सिगान बग्ने, घाँटी दुख्ने, शरीर दुख्ने र थकान हुने यो भेरियन्टका मुख्य लक्षण हुन् ।

यो भाइरस धेरै सङ्क्रमण भएपनि कम घातक भएको डा.पुन बताउछन् । तर,जोखिम वर्ग ज्येष्ठ नागरिक, गर्भवती महिला, स्वास्थ्यकर्मी,रोगप्रतिरोधात्मक क्षमता कम भएका मानिसमा यो भाइरसको जोखिम बढी भएको उनको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्