झापा , पुष २९ । हिजो साँझ झापाको माइधारमा भएको दुर्घटनाका मृतक र घाइतेको पहिचान खुलेको छ ।

मोटरसाइकलमा सवार मृतक झापा दमक ९ बस्ने २३ वर्षीय अनुप ढकाल रहेको प्रहरीले जनाएको छ । त्यस्तै घाईते हुनेमा मोरङ उर्लाबारी १ बस्ने अन्दाजी २१ वर्षीय प्रदिप बस्नेत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल चालक र मोटरसाइकलमा सवार यकिन हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

हिजो साँझ ६ बजेको समयमा झापा शिवसताक्षी सैनिक चौकस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आईरहेको बा १४ च ६६०३ नं.को कार र बिपरित दिशाबाट गईरहेको मे १० प ७२१२ नं.को मोटरसाइकल एक आपसमा जुधेका थिए । कारमा पाँचजना सवार रहेकोमा दुर्घटनामा परी चार जना घाइते भएका छन् । कार चालक बिर्तामोड ३ बस्ने ५० वर्षीय अनिलकुमार शाहको शरीरमा चोट लागेको छ । अवस्था सामान्य रहेकाले उनको कन्काई अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ । त्यस्तै बिर्तामोड ४ बस्ने ५३ वर्षीय जयप्रकाश शाहको अनुहारमा चोट लागेको छ । अवस्था सामान्य रहेको उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

त्यस्तै बिर्तामोड ३ बस्ने ४४ वर्षीय रञ्जन शाहको नाकमा चोट लागेको छ । अवस्था सामान्य रहेको उनको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ भने बिर्तामोड ३ बस्ने ५३ वर्षीय ललित शाहको अनुहारमा चोट लागेको छ । अवस्था सामान्य रहेको उनको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको डीएसपी रिजालले बताए । सोही कारमा सवार तत्काल नाम, थर, वतन नखुलेका पुरुष ‘मलाई केही भएको छैन’ भनी घटनास्थलबाट आफूखुशी गएकोले बुझ्ने कार्य भइरहेको रिजालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्