झापा, पुष २९ । बिर्तामोड ९ टांगावारीकी ढापा राजवंशीले एकाविहानै उठेर जाडोमा गाउँघरमा भाक्का बेचिहिँड्दा उनी मुश्किलले पाँच–सात सय रुपैयाँ कमाउँछिन् ।

भाक्का बेच्न घरघरमा पुग्दै ढापा

पाँच किलो चामलको पिठोको भाक्का बेच्दा बल्लतल्ल उनलाई त्यति नाफा छुट्छ । त्यही आम्दानीबाट एकल महिला ढापाले गुजारा गर्नु परिरहेको छ । ढापाले भाक्का बेचेको वर्षौ भइसक्यो । कहिले उनी एकैठाउँमा बसेर बेच्छिन् भने कहिले ढाकीमा भाक्का राखेर गाउँघरमा बेच्दै हिड्छिन् । वर्षौदेखिको उनको पेशाको प्रवर्द्धन हुन सकेन । भाक्का बेचेर राम्ररी जीवनयापन गर्न आदिवासी महिलाहरुलाई गाह्रो परिरहेको हो । आफूले बिहान ४ बजे भाक्का बनाउने गरेको र भाक्कालाई ढाकीमा राखेर गाउँघरमा बेच्ने गरेको उनले बताइन् । भाक्का बेच्न उनी आदर्श चोक , लख्खीवारी , बाठुवारी , बद्रीवारी पुग्ने गर्छिन् ।‘एकै ठाउँमा बसेर बेच्दा बाँकी खान्छन् पैसा दिँदैनन् ’उनले भनिन्,‘ गाउँमा बेच्दा नगदमा बिक्री हुन्छ ।’ आफूले वर्षौदेखि जाडो सिजनमा भाक्का बेच्दै आएकोमा केही महिनाका लागि जेनतेन गुजारा चल्ने गरेको उनले सुनाइन् । जाडोयामको तीन महिना भाक्का बेच्ने गरेकी ढापा अरु महिना कामविहीन हुने गरेकी छन् ।

भाक्कालाई दिवसको रुपमा मनाइरहँदा भाक्कावालीहरुको पेशा भने प्रवर्द्धन हुन सकेको छैन । चोक र बाटोको पेटीमै धुलोमैलोमा भाक्का बेच्नेहरु अव्यवस्थित छन् । भाक्कालाई दिवसको रुपमा प्रचार गरिरहँदा भाक्कालाई व्यवसायको रुपमा प्रवर्द्धन गर्न नसकिएको राजवंशी विकास प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशी बताउँछन् । उनले गत वर्ष आफ्नो संस्थाले बिर्ताबजार र सैनिकमोडमा भाक्का बेच्ने महिलाहरुलाई उपयुक्त ठाउँमा व्यवस्थित गर्न वडा कार्यालयलाई आग्रह गरेकोमा अझै उनीहरु सडकको पेटीमा भाक्का बेच्न बाध्य भएको बताए ।

चामलको पीठोबाट बनाइने भाक्का पोषिलो, स्वादिलो भएकाले यो लोकप्रिय छ । तर, यसलाई व्यवसायीकरण गर्न सकिएको छैन । राजधानीमा गैरआदिवासीहरुले व्यवसायिक रुपमा भाक्का बेच्न थालेको निकै भइसक्यो । इलामको श्रीअन्तुलगायतका ठाउँमा पनि अन्य समुदायका महिलाहरुले भाक्का बेचेर राम्रो आम्दानी गरिरहेका छन् । तर, आदिवासीहरुले आफ्नो मौलिक जातीय परिकार भाक्का बेचेर गरिखान सकिरहेका छैनन् । स्वादिष्ट परिकार बनाउने कला भएका आदिवासीहरुले झापा र मोरङमा माछा मुरैको ब्रान्ड बनाएर गरिखाएजस्तै जातीय परिकार भाक्कालाई पनि जीविकोपार्जनको गतिलो माध्यम बनाउन सकिने राजवंशी विकास प्रतिष्ठानका अध्यक्ष राजवंशी बताउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्