भद्रपुर, पुष २९ । झापा कारागारमा रहेका कैदीवन्दीका लागि पुस्तक तथा खेलकुद सामग्री हस्तान्तरण गरिएको छ ।


नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको १८ औं स्थापना दिवसको अवसरमा शनिवार विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीवन्दीहरुको पठन संस्कृतिको विकासका लागि पुस्तक हस्तान्तरण गरिएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापाले जनाएको छ ।

जिल्लाका विभिन्न पुस्तक तथा स्टेशनरी व्यवसायीबाट संकलित १ लाख ५२ हजार ६३६ रुपैयाँ बराबरको पुस्तक, स्टेशनरी र खेल सामग्री कैदीलाई प्रदान गरिएको महासंघ झापाले जनाएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापाका पदाधिकारीले कारागारभित्रै एक कार्यक्रमको आयोजना गरी कैदीलाई पुस्तक प्रदान गरेका हुन् ।
व्यवसायीले प्रदान गरेको पुस्तक तथा स्टेशनरीका सामान कारागारका आन्तरिक प्रशासन प्रमुख तथा बन्दी विकास पुस्तकालयका अध्यक्ष मनोज लावती, उपाध्यक्ष भरत सार्की, सचिव रमेश पोख्रेल र अविरमण्डु माझीले ग्रहण गरेका थिए ।
व्यवसायीले विभिन्न विधाका पुस्तक प्रदान गरेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापाका उपाध्यक्ष खगेन्द्र गौतमले बताए । उनका अनुसार कथा, कविता, उपन्यास, यात्रा संस्मरण, नाटक, फुटवल, भलिवललगायत जीवन उपयोगी पुस्तक प्रदान गरिएको हो ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका झापा अध्यक्ष विनोद सापकोटाले जेल जीवनबाट मुक्त भएपछि नयाँ जीवनको सुरुवात गर्न र जीवनशैली परिवर्तन गर्न यी पुस्तकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । कारागारमा रहेका कैदीबन्दीहरुको ज्ञान, चेतना र सिर्जना फैलाउने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएकाले यसको पूर्णरुपमा उपयोग गरी जीवनलाई ज्ञानबद्र्धक बनाउन पुस्तकले सहयोग गर्ने अध्यक्ष सापकोटाले बताएका छन् ।

कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका कोशी प्रदेशका बरिष्ठ उपाध्यक्ष जीवन नेपाल पनि सहभागी थिए । उनले कारागारका कैदीबन्दीको हातमा पुस्तक परेपछि उनीहरुको व्यवहारमा परिवर्तन आउन सक्ने बताए । उनले पुस्तक मानसिक स्वास्थ्यका लागि पनि सहयोगी बन्ने अपेक्षा गरे ।

कार्यक्रममा बन्दी विकास पुस्तकालयका सचिव रमेश पोख्रेलले नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापाको खुलेर प्रशंसा गरे । कैदीलाई एक दिनको ८० रुपैयाँ र ७ सय ग्राम चामल सरकारले दिने गरेको छ । सरकारको झिनो सुविधाले कारागारभित्र पुस्तक, खेलका सामग्री लगायत बन्दीका आधारभूत आवश्यकता पुरा नभइरहेको अवस्थामा पठन सामग्रीले आफूहरुलाई राहत दिएको उनले बताए ।

कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय सदस्य रविन बराल, प्रदेश उपाध्यक्ष राजकुमार दाहाल, झापा ४ का ईकाई अध्यक्ष दुर्गा घिमिरे र व्यवसायी महासंघका पदाधिकारीको सहभागिता थियो । झापा कारागारभित्र आयोजना भएको कार्यक्रमको सहजीकरण सचिव चन्द्रमणी घिमिरेले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्