झापा, पुष २९ । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले बाह्रदशी गाउँपालिका १ स्थित भागुडुब्बामा विपन्न समुदायका ज्येष्ठ नागरिकलाई ब्लाङ्केट वितरण गर्नुका साथै उनीहरुलाई मिष्ठान्न भोजन गराएको छ ।

बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक साकोसको आयोजना तथा मानवीय उद्धार सेवा केन्द्र नेपालको सहकार्यमा सयभन्दा बढी ज्येष्ठ नागरिकलाई ब्लाङ्केट वितरण गरिनुका साथै मिष्ठान्न भोजन गराइएको हो ।

सिम्रिक साकोसले सामाजिक उत्तरदायित्वअन्तर्गत शनिबार बाह्रदशी १ मा रहेको जेष्ठ नागरिक भवनमा एक कार्यक्रमको आयोजना गरी झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यतामा ब्लाङ्केट वितरण गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य लिङ्देनले सामाजिक उत्तरदायित्वअन्तर्गत यसरी विपन्न वर्गका नागरिकलाई जाडोमा न्यानो बनाउन ब्लाङ्केट सहयोग गरिएको भन्दै सिम्रिक साकोसलाई धन्यबाद दिए ।
उनले भने,‘सरकारले गर्ने काम एउटा सहकारी संस्थाले गरिरहेको छ । यस पवित्र कार्यलाई म हार्दिक धन्यवाद दिन चाहन्छु, यो एक पुण्य काम पनि हो । ’ उनले मनकारी संस्थाप्रति आभार पनि प्रकट गरे ।

पुष र माघ महिनामा अत्यधिक जाडो हुने र शीतलहर चल्ने भएकाले जाडो छेक्नका लागि विपन्न वर्गका ज्येष्ठ नागरिकलाई न्यानो होस् भनेर ब्लाङ्केट वितरण गरिएको सिम्रिक साकोसका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले बताए ।
संस्थाको कार्यक्षेत्र हल्दीबारी, बाह्रदशी तथा कचनकवलका गरिब तथा आर्थिक अवस्था कमजोर भएका विपन्न वर्गका जेष्ठ नागरिकलाई लक्षित गरी ब्लाङ्केट वितरण गरिएको कार्यकारी प्रमुख बस्नेतको भनाई छ ।

सदस्य बिरामी हुँदा बिर्तामोडको मनमोहन अस्पताल, कन्काई, ओमसाई तथा नोबेल शिक्षण अस्पतालमा उपचार गराउँदा २० प्रतिशतसम्म छुट हुने कार्यकारी प्रमुख बस्नेतले बताए ।

‘हाम्रो सानो सानो सहयोगले न्यानो ब्लाङ्केट नभएर कठ्यांग्र्रिएर रात काट्न विवश विपन्न परिवारका ज्येष्ठ नागरिकलाई यो जाडोमा न्यानो हुन्छ भनेर ब्लाङ्केट वितरण गरिएको संस्थाका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए ।
अन्य वित्तीय संस्थाभन्दा सिम्रिक सहकारी पृथक भएको बताउँदै संस्थाका अध्यक्ष भट्टराईले सिम्रिक सहकारी जन्मेदेखि मृत्युपर्यन्त सदस्यको साथी भएको उल्लेख गरे ।

बाहिर निस्कदा एकसरो न्यानो कपडा भएपनि घरभित्र ओढ्ने र ओछ्याउने नहुँदा जेष्ठ नागरिक कठ्यांग्र्रिन थालेको र स्वास्थ्यमा समेत असर पुग्ने अवस्थालाई ध्यानमा दिंदै सिम्रिक साकोसले सहयोग गरेको भन्दै कार्यक्रमका बिशिष अतिथि प्रदेशसभा सदस्य निमसरी राजवंशीले संस्थाको प्रशंसा गरिन् ।

संस्थाका अध्यक्ष भट्टराईको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वागतसहित औचित्यमाथि कार्यकारी प्रमुख बस्नेतले प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका विभागीय विजय बस्नेतले गरेका थिए ।

कार्यक्रममा बाह्रदशी गाउँपालिका ५ का वडाध्यक्ष लोकनाथ संग्रौला, मानवीय उद्धार सेवा केन्द्र नेपालका अध्यक्ष धनबहादुर बुढाथोकीलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्