बिर्तामोड, पुष २९ । विद्यालय हाताबाट शैक्षिक सामग्रीको अवैध बिक्री वितरणलाई नियमन गर्न झापाका व्यवसायीले आवाज उठाउन थालेका छन् ।

जिल्लाका १५ वटै पालिकाको विद्यालय हातामा भइरहेको पाठ्यपुस्तक, स्टेशनरी र खेलकुदका सामग्रीको बिक्री वितरण तत्काल रोक्न व्यवसायीले माग गरेका हुन् । झापाको बिर्तामोडमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको क्षेत्र नम्बर २ स्तरीय भेलामा सहभागी अधिकाँश व्यवसायीले शिक्षकले कक्षाकोठामा पाठ्यपुस्तकको व्यापार गर्ने गरेको गुनासो गरे । स्थानीय सरकार र संघीय सरकारलाई कर तिरेर सटर भाडामा लिएका व्यवसायी शिक्षककै कारण पलायन हुनु परेको भन्दै स्थानीय तहलाई त्यस्तो अबैध व्यापारको नियमन गर्न अनुरोध गरे ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका पूर्व केन्द्रीय सदस्य फडिन्द्रराज न्यौपानेले विद्यालय हातामा शिक्षक शिक्षिका वा विद्यालय प्रशासनले शैक्षिक सामग्रीको ब्यापार गर्नु कानुनतः अपराध भएको बताए । उनले आमामी शैक्षिक सत्रदेखि झापाका कुनै पनि विद्यालयमा शैक्षिक सामग्रीको बिक्री वितरण नगर्न सम्बद्ध पक्षसंग अनुरोध गरे ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय हाताबाट शैक्षिक सामग्री बिक्री बितरण नगर्न पटक पटक परिपत्र गरेपनि विद्यालयका शिक्षकले केन्द्रको निर्देशनलाई टेरेका छैनन् । अब कडाईका साथ केन्द्रको निर्देशनलाई विद्यालयमा लागु गर्न व्यवसायीले पालिकासंग अनुरोध गरेका छन् ।

कतिपय विद्यालयहरूले व्यावसायिक रुपमा विद्यालय हाताबाट शैक्षिक सामग्री बिक्री बितरण गरेको भन्ने गुनासाहरू आएकाले आगामी दिनमा विद्यालयहरूले विद्यालय हाताबाट शैक्षिक सामग्री बिक्री वितरण नगर्न नगराउन निर्देशन दिएको हो ।
विद्यालय, शिक्षकलगायत गैर व्यवसायीलाई प्रकाशक र वितरकले पाठ्यपुस्तक बिक्री गरे नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापा अदालत जाने महासंघका उपाध्यक्ष खगेन्द्र गौतमले बताए । उनले भने,‘ आगामी शैक्षिक सत्रदेखि जिल्लाका कुनै पनि सामुदायिक तथा संस्थागत विद्यालयको हाताभित्र पाठ्यपुस्तकको अबैध कारोवार हुने छैन ।’

विद्यालय हाताबाट व्यावसायिक रुपमा कुनै पनि शैक्षिक सामग्री विक्री वितरण गर्न नहुने व्यवस्था शिक्षा नियमावली २०५९ को नियम ३७ मा छ ।यसैबीच सो भेलाले नन्दीकेशर घिमिरेको अध्यक्षतामा ९ सदस्यीय नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापाको २ नम्बर ईकाई समिति गठन गरेको छ ।

सो समितिको सचिवमा यदुनाथ पोख्रेल शनिश्चरे र कोषाध्यक्षमा बबिता पौडेल बुधबारे निर्विरोध चयन भएका छन् । यस्तै सदस्यहरुमा ईश्वरी नेपाल बिर्तामोड, बद्री बाँस्कोटा बुट्टाबारी, घनेन्द्र डाँगी बिर्तामोड, सन्तोष बराल बिर्तामोड, गजेन्द्र कार्की बिर्तामोड र केशव मैनाली गरामनी सर्वसम्मत चयन भएका छन् । पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको झापाको पाँचैवटा निर्वाचन क्षेत्रमा ईकाई समिति गठन भइसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्