झापा,पुष २९ । आदिवासीहरुको जातीय परिकार भाक्काको स्वाद लिँदै झापामा राष्ट्रिय भाक्का दिवस आइतबार हर्षोल्लासका साथ मनाइएको छ।

बिर्तामोडको कार्यक्रम

जिल्लाको बिर्तामोड, भद्रपुर, बाह्रदशीसहित विभिन्न स्थानमा भाक्का दिवस हर्षोल्लासका साथ मनाइएको हो। राजवंशी, ताजपुरिया , गन्गाई , माझीलगायतका जातिले परम्परागत रुपमा भाक्का बनाउँदै आएका छन् । तर, राजवंशी समुदायले विगत केही वर्षदेखि पुष २९ गते राष्ट्रिय भाक्का दिवसका रूपमा मनाउन सुरु गरेका हुन्। बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा विशेष कार्यक्रमको आयोजना गर्दै यो दिवस सम्पन्न गरिएको छ भने भद्रपुर र बाह्रदशीमा समेत भिन्नाभिन्नै कार्यक्रम गरी मनाइएको छ। राजवंशी समुदायको मौलिक परिकार भाक्कालाई प्रवर्द्धन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकारको रुपमा स्थापित गर्ने उद्देश्यले राजवंशी समाज विकास समितिले बिर्तामोडमा सातौँ राष्ट्रिय भाक्का दिवस मनाएको हो।

बिर्तामोडमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती नआएपछि कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले कार्यक्रमको उद्घाटन गरेका थिए। राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीले कार्यक्रममा १० हजारभन्दा बढीको उपस्थिति रहेको र सबैलाई निःशुल्क भाक्का खुवाइएको बताए। कार्यक्रममा भारतीय गायिका नीलाञ्जना राय लगायत स्थानीय कलाकारको प्रस्तुति रहेको थियो। त्यस्तै सेलिब्रेटी सेफ सन्तोष शाह टिमको पनि कार्यक्रममा सहभागी थियो। सोही दिवसको अवसरमा रंगशालाका जग्गादाता स्व. डोमालाल राजवंशीकी छोरी सम्पत्ति राजवंशीलाई सम्मानपत्रले सम्मान गरिएको थियो।

भद्रपुरको कार्यक्रम

त्यस्तै राजवंशी समाज विकास समितिले भद्रपुरमा प्रथम भाक्का दिवस विविध कार्यक्रम गरी मनाएको छ। भद्रपुर–६ स्थित सिटी गार्डेन होटेलमा आयोजित कार्यक्रमको उद्घाटन कोशी प्रदेश सांसद भूमिप्रसाद राजवंशीले गरेका थिए।सहभागीहरूलाई भाक्का निःशुल्क खुवाइएको समितिका अध्यक्ष उत्तम राजवंशीले बताए।
कार्यक्रममा राजवंशी समुदायको मौलिक भेषभुषा, कला संस्कृतिको पनि प्रदर्शन गरिएको उनले बताए। कार्यक्रममा कलाकारहरु बलराम राजवंशी, कुसुम राजवंशी, सपना राजवंशी, उर्मिला राजवंशीलगायतको प्रस्तुति रहेको थियो।

बाह्रदशीको कार्यक्रम

त्यस्तै भाक्का दिवसको अवसरमा बाह्रदशीमा रक्तदान कार्यक्रम र आँखा शिविर सम्पन्न भएको छ । कार्यक्रममा ३३ जनाले रक्तदान गरेका थिए भने १२५ जनाको आँखा जाँच गरिएको थियो । त्यसमध्ये १४ जनालाई मोतिया विन्दु अप्रेशनको लागि सिफारिस गरिएको आयोजक राजवंशी समाज विकास समिति बाह्रदशीका सचिव हेम राजवंशीले बताए । कार्यक्रममा प्रमुख अतिथि बाह्रदशी गाउँपालिकाका अध्यक्ष देविन्द्रप्रसाद चम्लागाई, पूर्व अध्यक्ष खड्गप्रसाद राजवंशी, दयानन्द गोस्वामी,लक्ष्मण पाठक,ओमप्रकाश गौतम,दिलकुमार लिम्बूलगायतले र शुभकामना मन्तव्य राखेका थिए ।

झापाका तीन वटा स्थानीय तह हल्दिबारी गाउँपालिका, भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिकाले आइतवार स्थानीय बिदा दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्