झापा, माघ २ । गत वर्षको स्थानीय तहको निर्वाचनमा अर्जुनधारा नगरपालिकाको नगर प्रमुखकी उम्मेदवार रंजिता कार्कीले विवाह गरेकी छन् ।

नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि तथा कोशी प्रदेशकी सदस्य अर्जुनधारा ५ निवासी ४० वर्षीया कार्की कन्काई नगरपालिका १ निवासी राजीवकुमार थापासंग आज वैवाहिक बन्धनमा बाँधिएकी हुन् । समान उमेरका थापा कांग्रेसका क्षेत्रीय प्रतिनिधि हुन् । अधिवक्ता कार्की नेपाल विद्यार्थी संघबाट कांग्रेसको राजनीतिमा आएकी हुन् भने थापाले पनि विद्यार्थी संघमा रहेर राजनीति गरेका थिए ।

कांग्रेस नेतृ कार्कीको विवाहमा प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगर ,कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा , पूर्व मुख्यमन्त्री उद्धव थापा , पूर्वमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीलगायत पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । त्यस्तै थापाको जन्तीमा पनि कांग्रेसका नेता कार्यकर्ताहरुको सहभागिता रहेको जन्ती आएका युनिकम नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेलले जानकारी दिए ।

गत वर्षको स्थानीय तहको निर्वाचनमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी कांग्रेसकी कार्कीले १३७४३ मत ल्याएकी थिइन् । सो निर्वाचनमा एमालेका तर्फबाट बलदेवसिंह गोम्देन तामाङ १९१६९ मत ल्याएर नगर प्रमुखमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्