झापा, माघ ३ । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले शनिवार बाह्रदशी १ भागुडुब्बामा विपन्न समुदायका सयभन्दा बढी ज्येष्ठ नागरिकलाई ब्लांकेट वितरण गर्यो ।शीतलहरका कारण बिर्तामोड ६ का विपन्न ज्येष्ठ नागरिकलाई समेत समस्या भएको देखेपछि सहकारीले त्यहाँका १ सय ४० जना ज्येष्ठ नागरिकलाई न्यानोका लागि बुधवार ब्लांकेट वितरण गरेको छ ।

सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सहकारीले निरन्तर सामाजिक कार्यहरु गर्दै आएको हो । गत वर्ष बिर्तामोड ७ स्थित विरान स्कुलका २ सय विद्यार्थीलाई सहकारीले ब्याग वितरण गरेको थियो । केही दिनपछि बिर्तामोड ९ स्थित शहीद लक्ष्मी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम रहेको कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले सुनाए । उनका अनुसार केही दिनमै पाँचथरको यासोक र रविमा पनि राहत वितरण गर्ने कार्यक्रम रहेको छ ।

सामाजिक कार्य गर्नका लागि सिम्रिक सहकारीले २१ करोडको कोष खडा गरेको छ । सोही कोषबाट विभिन्न सामाजिक कार्यहरु गर्दै आएको कार्यकारी प्रमुख बस्नेतले बताए । उनले सिम्रिक साकोसमा हाल ६१ हजार हाराहारी शेयर सदस्य र ३४ करोड रुपैयाँभन्दा बढी शेयर पुँजी रहेको र संस्थामा ३ अर्बभन्दा बढीको सम्पत्ती रहेको जानकारी गराए ।

बुधवार बिर्तामोड ६ का विपन्न समुदायका ज्येष्ठ नागरिकलाई ब्लांकेट वितरण गर्नुका साथै उनीहरुलाई मिष्ठान्न भोजन गराइएको थियो । स्थानीय जलकन्या देवी मन्दिर परिसरमा बिर्तामोडका नगरप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विपन्न ज्येष्ठ नागरिकहरुलाई एक–एक थान ब्लांकेट वितरण गरिएको हो ।

संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा उनले सिम्रिक साकोसले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य र कृषिको क्षेत्रमा काम गरिरहेको जानकारी दिए ।

उनले सिम्रिक साकोसको कार्यक्षेत्रका सबै ५० वटै सेवाकेन्द्र र आसपासका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कूल ब्याग, स्टेशनरी सामग्री, स्वीटर, जुत्ता आदि सामग्री वितरण गर्दै संस्थाले सामाजिक उत्तरदायित्व बहन गरिरहेको पनि जानकारी गराए ।

सो कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईले ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरी मिष्ठान्न भोजन गराएर सहकारीले रचनात्मक कार्य गरेको बताइन् ।

कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङवाले जनताका प्रतिनिधिले गर्नुपर्ने काम सहकारी संस्थाले गरेर ज्येष्ठ नागरिकको मन जितिरहेको जिकिर गर्दै अब बुवाआमाको नाममा आउने वृद्धभत्ता सहकारीमा खाता खोलेर राखिदिन सुझाव दिए ।

संस्थाका विभागीय प्रमुख विजय बस्नेतले सञ्चालन गरेको सो कार्यक्रममा सञ्चालक समिति सदस्य नविन योगीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा मसले कृषि सहकारी संस्थाका अध्यक्ष तेजबहादुर कन्दङवाले पनि आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्