झापा , माघ ४ । जिल्ला विकास समिति झापाका पूर्व उपसभापति तथा साविक महेशपुर गाउँ विकास समितिका अध्यक्ष रोहितकुमार सिंह राजवंशीको निधन भएको छ ।

भद्रपुर ४ निवासी राजवंशीको ६४ वर्षको उमेरमा बिहीवार दिउँसो २.३० बजे ओमसाई पाथिभरा हस्पिटलमा उपचार हुँदाहुँदै निधन भएको हो । उनी मिर्गौलाको समस्याले पीडित थिए ।

राजवंशी शाही कालका बेला जिल्ला विकास समितिको उपसभापति मनोनित भएका थिए । त्यस बेला हालका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन जिविसको सभापति रहेका थिए । त्यसपछि उनी साविक महेशपुर गाउँ विकास समितिको दुई पटक अध्यक्ष निर्वाचित भएका थिए ।

उनी पंचायत कालका पूर्वमन्त्री गोपालचन्द्र सिंह राजवंशीका छोरा हुन् । बुवा गोपालचन्द्रसंगै रोहितले पनि राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेर जिन्दगीभरि राजनीति गरेका थिए । राप्रपाको केन्द्रीय सदस्य बनेका रोहितले केही वर्षयता राप्रपा छोडेका थिए । स्वर्गीय राजवंशीको शुक्रवार बिहान ११ बजे देउनिया खोलामा अन्त्येष्टि गरिने भद्रपुर ४ का वडाध्यक्ष हंशधर राजवंशीले बताए । स्व. राजवंशीका श्रीमती , दुई छोरा र एक बुहारी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्