झापा, माघ ४ । बिर्तामोड ३ स्थित मुसहर बस्तीकी अन्जु ऋषिदेव चौधरीले १६ वर्षको उमेरमा बिहे गरेकी थिइन् । उनका छोरी चन्दा चौधरीले पनि त्यही १६ वर्षमै बिहे गरिन् ।

सोही बस्तीकी दिलकुमारी ऋषिदेव अहिले ३० वर्षकी भइन् ।उनको जेठी छोरी १२ वर्षकी छन् । १८ वर्षकै उमेरमा उनले आफ्नै उमेरका विनोद ऋषिदेवसंग विवाह गरेकी थिइन् । उनीहरुको अहिले १२ वर्षकी छोरी र ८ वर्षको छोरा रहेका छन् । अन्जु र दिलकुमारी मात्र होइन , मुसहर बस्तीका रीता ,मालती , संझना , रविना , पूर्णी गरी सबैजनाले २० वर्ष नपुगी कम उमेरमै बिहे गरेका हुन् । केही महिना अघिमात्र सन्तोष ऋषिदेवकी जेठी छोरी लक्ष्मीले पनि १८ वर्षमै बिहे गरिन् ।

बाबुआमाको करकापमा भन्दा पनि आफ्नै राजीखुशीले मुसहर बस्तीका युवायुवतीहरुले कम उमेरमै बालविवाह गर्ने गरेका छन् । प्रायः सबैजनाको भागी विवाह नै हुने गरेको छ । शिक्षा र चेतनाको अभावमा रहेका विपन्न मुसहरहरुलाई बालविवाहका बारेमा थाहा छैन । उनीहरुलाई २० वर्ष नपुगी विवाह गर्दा कानुनी सजाय हुने कुरा पनि थाहा छैन ।

नजानेर र नबुझेर आफू र आफ्नो छोरीले पनि १६ वर्षमै बिहे गरेको अन्जु ऋषिदेव चौधरीले बताइन् । ‘जान्ने बुझ्नेले गर्दैनन् ’उनले भनिन्,‘ हामीले बुद्धि बिग्रेर अझै बालविवाह गरिरहेका छौं । ’ अन्धुवा खोलाको किनारमा १० घर मुसहरहरुको बसोबास छ । बालविवाहका बारेमा अहिलेसम्म कसैले पनि नसिकाएको अन्जुले बताइन् ।

कम उमेरमा विवाह गर्दा मुसहर महिलामा यौनिक र स्वास्थ्य समस्या देखिएको छ । कम उमेरमा विवाह गरेका अभिभावकबाट जन्मिएका बालबालिकामा कुपोषणको समस्या देखिएको मुसहर बस्ती निर्माण समितिका संयोजक इन्द्रसिंह राजवंशीले बताए । उनले वीरता लेडी जेसीजले स्वास्थ्य शिविर संचालन गर्दा एकजना मुसहर महिलाको पाठेघरको मुखमा समस्या पाइएको जानकारी दिए । बालविवाह न्यूनीकरणका बारेमा विभिन्न संघ संस्थाले अभिमुखीकरण कार्यक्रम गरिरहँदा पछि परेका समुदायलाई लक्षित गरी त्यस्ता कार्यक्रम संचालन गरिनुपर्ने प्रतिदिन दैनिकका सम्पादकसमेत रहेका राजवंशीको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्