बिर्तामोड, माघ ५ । बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्षको उम्मेदवारी घोषणा गरिसकेको एमालेनिकट नेपाल उद्योग तथा व्यवसायी महासंघले नेपाली कांग्रेसलाई एक्ल्याउने तयारी थालेको छ ।

कांग्रेसनिकट लोकतान्त्रिक व्यवसायीहरुलाई एक्ल्याउन उद्योग तथा व्यवसायी महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीसंग चुनावी एकता गर्ने सहमति गरिसकेको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी , नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसंग पनि सहमति गर्न लागेको एमालेका नगर इन्चार्ज देवराज कार्कीले बताए । उद्योग तथा व्यवसायी महासंघले चुनावी एकताका लागि प्रदेश सांसद एकराज कार्की र पार्टीका नगर इन्चार्ज देवराज कार्कीलाई जिम्मेवारी दिएको छ । आफूहरुले सबै राजनीतिक दलहरुसंग चुनावी एकताका लागि वार्ता गरिसकेको र सहमति नजिक पुगिसकेको नगर इन्चार्ज कार्कीले दावी गरे ।

अध्यक्षको उम्मेदवारमा वाणिज्य संघका वर्तमान महासचिव अर्जुनकुमार मैनालीलाई घोषणा गरेको उद्योग तथा व्यवसायी महासंघले हिजो बिहान १० बजे सम्पर्क कार्यालय उद्घाटन गर्ने तयारी गरेको थियो । त्यसलाई स्थगित गरी दिउँसो २ बजेलाई सारिएको थियो । वार्ता भइरहेका दलहरुसंग सहमति गरिसकेपछि संयुक्त रुपमा चुनावी सम्पर्क कार्यालय उद्घाटन गर्नेगरी दिउँसो २ बजेको कार्यक्रम पनि स्थगित गरिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीसंग चुनावी एकता गर्ने निर्णय गरिसकेको उद्योग तथा व्यवसायी महासंघले सो पार्टीलाई वरिष्ठ उपाध्यक्ष पद दिने बुझिएको छ । त्यस पदमा रास्वपाका राजु घिमिरे राजु उठ्ने भएका छन् । अन्य दलसंग चुनावी एकता गर्ने सहमति बनिसकेको र व्यक्ति हेरेर पद बाँडफाँट गरिने अध्यक्षका उम्मेदवार मैनालीले बताए ।

नेपाली कांग्रेसले भने अहिलेसम्म प्यानल र उम्मेदवारको टुंगो लगाएको छैन । हालका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेलाई अध्यक्षको उम्मेदवार बनाउने चर्चा चलेपनि अहिलेसम्म निर्णय भइनसकेको बताइएको छ । गत निर्वाचनमा पनि एमाले , राप्रपा , माओवादीलगायतका दलले चुनावी एकता गरेका थिए । आगामी फागुन १४ गते वाणिज्य संघको निर्वाचन हुँदैछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्