विद्यालयको ५९औं बार्षिक उत्सवको माहोल थियो ।उक्त दिन त्यसै पनि विशेष । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती अर्थात पुष २७ गते ।विद्यालय परिवार पाहुनाको स्वागत सत्कार र अन्य ब्यवस्थापनमा सक्रिय थियो। कार्यक्रममा अभिभावक र विद्यार्थी उपस्थिति पनि उत्साहजनक थियो।मलगायत मेरा केही सहकर्मीहरु सम्पूर्ण ब्यवस्थापन मिलाएपश्चात् उत्साहित भएर कार्यक्रमको रमाइलो लिँदै थियौँ ।बिनाप्रशिक्षण हाम्रा नानीहरुको विभिन्न प्रस्तुति हेर्दा हामी निकै प्रफुल्लित थियौं ।
त्यतिकैमा पछाडीबाट एकजना ब्यक्तिले कसैको नाम लिएर बोलाउनुभयो । जसको नाम लिइएको थियो, उनी एक्कासि रुन थालिन् । हामी चकित भयौं । बोलाउँदा उनी किन रुँदैछिन् ?पहिले त हामी उनलाई फकाउनतिर लाग्यौ।समाजले हामीलाई जतिसुकै गाली र ताली दिएपनि नदिएपनि विद्यार्थीहरुसित हाम्रो नाता पवित्र छ । उनीहरु रुँदा संगै रुने र हाँस्दा संगै हाँस्ने हाम्रो बानी परिसकेको छ ।एकैछिन पछि सत्य कुरा हामीले बुझ्यौ ।उनको बुवा मादक पदार्थ सेवन गरी असन्तुलित भएर दुङ्ग गन्हाउँदै त्यहाँ आउनु भएको रहेछ ।
यो त फगत एउटा उदाहरण मात्र हो । समाजमा सामुदायिक विद्यालयका शिक्षकलाई अपमानित दृष्टिकोणले नियालिरहँदा त्यहाँभित्रको कथा ब्यथा कति बुझेको छ, त्यो पनि ख्याल गर्न जरुरी छ।समाजमा थरीथरी स्वभावका मानिस हुन्छन् । सबै सहि सबै गलत त कुनै पनि क्षेत्रका मानिस हुँदैनन्।गलत ब्यक्ति हुन्छ पेशा कहिल्यै हुँदैन।एउटै आमाले एउटै गर्भमा एकैपटक हुर्काएर जन्माएका सन्तानको त स्वभाव भिन्नभिन्न हुन्छ भने ।सामुदायिक विद्यालय र संस्थागत विद्यालयलाई तुलना गरी बढी सेवा सुबिधा र कम सेवा सुबिधाको कुरा गरी गुणस्तर दाँजेर हामीलाई गाली बदनामी गरिरहँदा आउनुहोस् एकपटक सामुदायिक विद्यालयको परिवेशभित्र प्रवेश गरौँ ।
सर्बप्रथम त मेरो नजरले शैक्षिक संरचनामै विभेद देख्छ सामुदायिक र संस्थागत विद्यालयमा। कुनै एउटा बालक ४ बर्षको उमेरमा बालविकासमा भर्ना भएर ५ बर्षमा कक्षा १ मा भर्ना हुन्छ । पाठ्यक्रम र पाठ्यपुस्तकको बोझले गर्दा राम्रोसंग शब्द नचिनेकालाई पाठ्यक्रमतर्फ दौडाउनु पर्छ । न त दैनिक विद्यालय आउँछन् न त आवश्यक सामग्री नै हुन्छ उनीहरुसंग । त्यसमाथि फेल गराउनै नहुने शिक्षा नीति । के हामी सबै जुनसुकै काममा एकै पटकमा सफल भएका हुन्छौ र ?उनीहरुलाई चाहिँ किन कक्षा दोहोर्याएर भए पनि सफल बनाउन अक्षर नचिनी पनि कक्षा चढाउनु पर्ने यो कस्तो बाध्यता हामीलाई ?तर संस्थागत विद्यालयमा अढाई बर्षदेखि प्लेग्रुप,नर्सरी,एलकेजी ,युकेजी गरेर ४ बर्षपछि कक्षा १ मा भर्ना हुन पुग्छ ।यति भएपछि उनीहरुको सिकाईमा भिन्नता हुन्छ कि हुँदैन ?किन यति धेरै विभेद छ संरचनामा ?किन कसैको ध्यान जाँदैन यतातिर? कि मेरो बुझाई नै गलत हो?यस्ता प्रश्नहरु धेरै छन् मेरो मानसपटलमा ।
संस्थागत विद्यालयमा पढ्ने बिद्यार्थीहरुलाई गरिएको लगानीको रापले पोलेर हो कि किन हो दैनिक विद्यालय पठाउने,मीठो खाजाको ब्यबस्था गर्ने,सवारीसाधनमा पठाउने,एक्स्ट्रा ट्युसन लगाउने,नानी पढ,होमवर्क गरिस् भन्ने,मासिक शुल्क बुझाउनै भएपनि विद्यालय जाने ,पढाई कस्तो छ जिज्ञासा राख्ने आदि ।तर विडम्बना सामुदायिक विद्यालय पढ्ने अधिकांश नानीहरुको अभिभावक नानी स्कुल जा है भनेर बिहानै मजदुरी गर्न जानु हुन्छ । काममा नगए उहाँहरुको चुल्हो बल्दैन।उक्त परिवारको नानी मन लागे आउँछ, नलागे उतै बरालिन्छ ।केही परिवारमा सामाजिक समस्याले गर्दा दिनरातको घरेलु हिंसा, कतिको आमा नहुने ,कतिको बुवा,कति अरुकै संरक्षकत्वमा बसेका, कति त बिनाअभिभावकत्व बिनासंरक्षकत्वमा पनि हुन्छन् ।तपाईहरुलाई सुन्दा अचम्म लाग्न सक्छ तर, हामीले भोगेका छौं ।कक्षा २ मा पढ्ने बालक धूम्रपानको लतमा लागेको के त्यो हाम्रो दोष हो?कि परिवार र उसको समाजको?हामीले त्यो लत हटाउन के गर्न सक्छौ? उसको परिवारको सदस्यले नै धूम्रपान मद्यपान गर्नु हुन्छ।
संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीले कुनै अनुशासनहीन काम गरोस् त सिधै विद्यालयले निष्कासन गर्छ,पाइपले हानेर भएपनि डर त्रास देखाएर अनुशासनमा ल्याउँछ ।तर , सामुदायिक विद्यालयमा कसैले गरेको छ र कुनै शिक्षकले उसलाई कार्बाही गर्यो भने भोलिदेखि राजनीतिक मसला बन्छ र जागिरैसम्म जाने खतरा हुन सक्छ।कुनै प्रशिक्षणको क्रममा फरक विद्यालयका गुरु, गुरुआमासंग भलाकुसारी हुँदा पनि कुरा मेल खान्छ । ८ कक्षामा पढ्छ, नेपाली पढ्न जान्दैन । यसको कुनै समाधान छैन त ?डाक्टरले रोग निको पारेजस्तो उनीहरुको उपचार गर्ने कुनै पद्धति छैन हामीसंग । प्रत्येक कक्षाका त्यस्ता विद्यार्थी मात्र राखेर अक्षर चिनाउन सक्दैनौ हामीले ।यसतर्फ हामी सबैको ध्यान जान जरुरी छ । केही जान्दैन कसरी पास भयो ?भन्ने अभिभावक ,शिक्षक विद्यालयको ब्यबस्थापकीय पक्ष सबै मिले के यो असंभव छ त? परिवारभन्दा माथि विद्यालय र शिक्षक पक्कै पनि छैनन् ।
त्यसैले आउनुहोस् शिक्षकमा मात्रै समस्या पक्कै छैन ।हामीभित्र भएका समस्या पनि समाधानतर्फ लागौं र कसको के कमजोरी छ सच्याऔं र सबै मिली सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्नतर्फ लागौं ।एकले अर्काको दोष देखाउनुभन्दा पनि सुझाव प्रस्तुत गरि हातमा हात मिलाई प्रण गरौं ।
(लेखक लक्ष्मी माध्यमिक विद्यालय अर्जुनधारा ६ की शिक्षक हुन् ।)
राम्रो लाग्यो