झापा,माघ ५ । रोङ गाउँपालिकाले गुन्द्रुक उत्पादनमा किसानलाई अनुदान र बजारीकरणका लागि ‘ब्रान्डिङ’ गर्ने काम सुरुआत गरेको छ ।

उत्पादनमा किसानलाई सहुलियत दिने र किसानले उत्पादन गरेका सबै गुन्द्रुक बिक्री गर्ने जिम्मा गाउँपालिकाले नै लिने भएपछि किसान गुन्द्रुक बनाउनकै लागि व्यावसायिक साग खेती गर्न थालेका हुन् ।
रोङ–४ की शारदा अर्याललाई दुई वर्षअघि गुन्द्रुक बिक्छ भन्ने कल्पना नै थिएन । उनलाई लागेको थियो साग त बिक्दैन गुन्द्रुक कसले किन्ला र । तर शारदाले अहिले व्यावसायिक रुपमा नै साग खेती गरेकी छिन् । उनको बारीभरि हरिया साग छन् । गाउँपालिकाले ‘गुन्द्रुक’ ब्रान्डिङ गर्ने कार्यक्रम ल्याएदेखि उनलाई साग खेतीमा आकर्षण भएको हो । “चिया, आलुले भाउ र घीउछुर्पीले बजार नपाएका बेला गुन्द्रुक बिक्री होला भन्ने त सोच नै थिएन तर हाम्रै गाउँपालिकाले गुन्द्रुकको बजार खोजिदिने भएपछि साग रोप्न थालेँ, आजकाल त साग फलायो, गुन्द्रुक बनायो बेच्यो,” उनले भनिन् ।

गाउँपालिकाले गुन्द्रुक, सिस्नोलगायत १० देखि १२ प्रकारका कृषि उपजको ब्रान्डिङ गरेर किसानका लागि एउटा प्लेटफर्म तयार गरिदिने काम गरिरहेको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले जानकारी दिए । ‘गुन्द्रुक, र सिस्नोमात्र होइन आगामी वर्षदेखि १०–१२ वटा ‘आइटम’ सुकाएर बजारमा ल्याउने तयारी गर्दैछौँ,” उनले भने, “भोलि एकजना किसान, एउटा व्यवसायी वा उद्योगीले यो सबै बजार निश्चित गरेर प्लेटफर्म बनाउन गाह्रो हुन्छ तर राज्यले बनाई दिएको प्लेटफर्ममा काम गर्न सजिलो हुन्छ । त्यसैले हाम्रो प्रयास किसानका लागि सहजता प्रदान गर्ने हो ।”गुन्द्रुकजन्य उत्पादनलाई सुकाएर ‘प्याकेजिङ’ गर्ने प्लान्टमा पालिकाले एक करोड बराबरको लगानी गरेको छ । “किसानलाई तालिम गरायौँ, लेभलिङ, प्याकेजिङ ब्रान्डिङको प्रक्रियामा केही खर्च ग¥यौँ, करोड बराबरको खर्च भएको छ,” उनले भने ।

गुन्द्रुकमात्र नभएर सिस्नोलाई समेत ब्रान्ड बनाउन सुरु भएको छ । “कुनै पनि उत्पादनलाई मौसम र समय परिवर्तन गरेर बजारमा निकाल्ने भनेको एउटा शीतभण्डारमा राखेर हो अर्को सुकाएर निकालिने हो,” स्याङबो भन्छन्, “शीतभण्डार महङ्गो छ । यो तत्काल बिक्री नगरे अखाद्य बन्छ तर सुकाएर निकालिने कुराको चैँ पर्खेर एक–डेढ वर्षमा बिक्री गर्दा पनि सम्भव छ । त्यसकारण हाम्रो भूगोलमा कोेलस्टोरभन्दा ‘ड्रायरप्लान्ड’ उपयुक्त हुन्छ ।”गुन्द्रुकलाई गुणस्तरीय बनाउन किसानलाई तालिम र ड्रायर मेसिन अनुदान दिइने गरेको गाउँपालिकाले जनाएको छ । गुन्द्रुकमा किसानलाई प्रतिकिलो रु ८० अनुदान दिइने छभने गुन्द्रुकको अमिलोपन, सुक्खापन, आकार, रङ्गलगायत कस्तो बनाउने भन्नेबारे किसानलाई प्राविधिक सहयोग गर्ने गरिएको छ, अध्यक्ष स्याङ्बोले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्