झापा, माघ ६ गते । कनकाई नगरपालिकास्थित जामुनखाडी सामुदायिक वनले निर्माण गरेको नयाँ आधुनिक र प्राकृतिक वातावरण मैत्री प्राणी उद्धार केन्द्रमा पशुपन्छीको स्थानान्तरण गरिएको छ ।

प्रदेश सरकार र सामुदायिक वनको दुई करोड बढीको लगानीमा बनेको आधुनिक उद्धार केन्द्रमा वनभित्र रहेका पशुपन्छीहरूलाई स्थानान्तरण गरिएको वन उपभोक्ता समितिका अध्यक्ष खेम सिटौलाले जानकारी दिए ।

कोशी प्रदेशमा पहिलो पटक स्थापना भएको केन्द्रमा हाल दुई दर्जन बढी विभिन्न प्रजातिका पशुपन्छी राखिएको अध्यक्ष सिटौलाको भनाइ छ । यसमध्ये १० बिघा वनमा रहेको क्षेत्रफलमा प्राकृतिक वातावरण मैत्री मृगस्थली निर्माण गरेको उनले बताए । जहाँ दुई दर्जन बढी चित्तल छाडिएका छन् । उनले सामुदायिक वनले प¥या–पर्यटन सुरु गरेदेखि पाल्न सुरु गरेका र इलाम, ताप्लेजुङ, पाँचथर र जिल्लाका विभिन्न स्थानबाट उद्धार गरेका पशुपन्छीलाई उद्धार केन्द्रमा राख्ने गरेको बताए ।

जामुनबाडी सामुदायिक वन वि.सं.२०६५ देखि नै खुला चिडियाखानाका रूपमा प्रसिद्ध छ । वनको खुला चिडियाखानामा हाल चित्तल, रतुवा र अन्य जातका मृग, चितुवा, नीलगाई, अजिङ्गर, भालु, हिमाली गिद्ध, चरिबाघ, कछुवालगायत दुई दर्जनभन्दा बढी प्रजातिका वन्यजन्तु पालिएको अध्यक्ष सिटौलाको भनाइ छ ।

उनले सामुदायिक वनको आम्दानीबाट नै उद्धार केन्द्रलाई व्यवस्थित बनाउँदै लगेको बताए । वनले आन्तरिक तथा बाह्य पर्यटकलाई वन क्षेत्रभित्रको पार्कलगायतका पशुपन्छीको अवलोकन गर्नका लागि एक सय प्रवेश शुल्क लिने गरेको छ । सामुदायिक वनको आम्दानीले सो क्षेत्रको व्यवस्थापनसँगै अन्य कार्य गर्नुपरेका कारण आर्थिक समस्या रहेको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्