झापा,माघ ६ । झापा जिल्लाका विभिन्न स्थानमा दैनिक हुल बाँधेर र एक्लै आउने जङ्गली हात्तीले घर भत्काएपछि अधिकांश बासिन्दा माघको चिसोमा कसरी रात कटाउने भन्ने चिन्ताले पिरोलिन थालेका छन् ।

कचनकवल, बुद्धशान्ति, हल्दिबारी गाउँपालिका, दमक, शिवसताक्षी, भद्रपुर र अर्जुनधारा नगरपालिकाका विभिन्न स्थानमा रैथाने जङ्गली हात्तीले दैनिक गाउँ पसेर घर भत्काउने र अन्न खाने गरेका छन् । यहाँका स्थानीयवासी धन जोगाउने कि ज्यान भन्ने चिन्तामा छन् । हात्तीले पक्की घरभन्दा टिनको छानो र टाटीले बेरेको घरलाई बढी निशाना बनाउने गरेको छ । हात्तीले घर भत्काउनुका साथै दुःख गरेर वर्षभरि खानाका लागि भण्डारण गरेको धान, चामल, मकै खाने, छरिदिने हात्तीपीडितको गुनासो छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चालु आर्थिक वर्षको २०८०–०८१ को साउनदेखि पुस मसान्तसम्ममा जङ्गली जनावरबाट रु ४८ लाख ५० हजार छ सय ४० बराबरको भौतिक क्षति भएको छ । कार्यालयले सो अवधिमा जङ्गली जनावरले जिल्लाका ७२ स्थानमा ५९ घर, दुई गोठ भत्काएको जनाएको छ । हात्तीले घर भत्काएमा सरकारले रु १० हजारसम्म क्षतिपूर्ति दिने व्यवस्था गरेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्