भद्रपुर, माघ ६ । स्थापनाको १३ औं वर्ष प्रवेशको अवसर पारेर वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर १० ले विविध कार्यक्रम सम्पन्न गरेको छ ।


सहकारी स्थापनाको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रक्तदान तथा विपन्न सदस्यका लागि निःशुल्क स्वास्थ्य विमा गरिएको हो । बचत तथा ऋण सहकारी संघका केन्द्रीय महासचिव घनश्याम अधिकारीले ३८ औं पटक रगत दिएर उद्घाटन गरिएको रक्तदान कार्यक्रममा ४ महिला सहित २४ जनाले रगत दान गरेका थिए । सहकारीमा आबद्ध रहेर नियमित कारोवार गर्ने आर्थिक अवस्था कमजोर रहेका कारण स्वास्थ्य विमा गर्न नसकेका रामबहादुर माझीको परिवारको एक वर्षको विमा गरिएको थियो ।

संस्थाका अध्यक्ष प्रकाश निरौलाको अध्यक्षता तथा नेफ्स्कुनका महासचिव अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष डिल्लीराम अधिकारीले गरेका थिए भने सञ्चालन सचिव विदुर ढुंगानाले गरेका थिए । रक्तदान कार्यक्रममा रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोग रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्