इलाम, माघ ७ । बिर्तामोड युनाइटेड क्लब इलाममा जारी प्रथम इलाम गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा जागृति युवा क्लब इटहरीलाई ३–० गोल अन्तरले पराजित गर्दै बिर्तामोडले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

बिर्तामोडका लागि हिसुब थपलियाले ३८ औं , ५१ औं र प्रशान्त लक्समले ८६ औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए । झापाले अब मंगलबार हुने बुटवल लुम्बिनी फुटबल क्लब र पाँचथर फुटबल क्लब पाँचथरको विजेतासँग प्रतिष्पर्धा गर्ने छ ।
सुरुवातदेखि नै एकलौटी दबाबमा परेको इटहरीले पाएको केही अवसर गोलमा परिणत गर्न नसक्दा हार ब्यहोर्न बाध्य बन्नु पर्यो ।

खेलको म्यान अप द म्याच बिजेता बिर्तामोडका हिसुब थपलिया घोषित हुँदै नगद पाँच हजार प्राप्त गरे ।
सोमबार तेस्रो क्वाटरफाइनलमा न्युरोड टिम (एनआरटी) र बाग्मती युवा क्लब सर्लाहीबीच प्रतिष्पर्धा हुनेछ ।

गोल्डकपमा भारतको एक टिमसहित ८ टिमले सहभागिता जनाएका छन् । गोल्डकपको विजेताले नगद रु पाँच लाख र उपविजेताले नगद रु तीन लाखसहित पदक र प्रमाणपत्र पाउनेछन् । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किप्पर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उदीयमान खेलाडी र उत्कृष्ट कोचलाई खेलको अन्तिम दिन नगद रु पाँच हजार पुरस्कार प्रदान गरिने आयोजक रेडहर्षका अध्यक्ष साङ्गे योल्मूले बताए । गोल्डकपको फाइनल खेल माघ १३ गते हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्