झापा,माघ ८ । इलामको पशुपतिनगरमा सवारीसाधनका लागि इजाजतपत्र दिन राजस्व सङ्कलन केन्द्र स्थापना गरिएको छ ।

कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाल–भारत सीमा नाकास्थित पशुपतिनगरमा उक्त केन्द्र स्थापना गरेको हो ।

उक्त केन्द्रको स्थापनाले पर्यटक लिएर नेपाल प्रमाणका लागि प्रवेश गर्ने सवारीसाधन पशुपतिनगर नाका हुँदै आउँदा सडकको पटके कर तिर्न इलाम वा झापा पुग्नुपर्ने बाध्यता हटेको छ । सो नाका भएर नेपाल प्रवेश गर्ने सवारीसाधनबाट वार्षिक करिब डेढ करोडभन्दा बढी राजस्व सङ्कलन हुने अपेक्षा गरिनुका साथै नेपाल आउने पर्यटक तथा सवारी व्यवसायीलाई सहज हुने यातायात व्यवस्था कार्यालयका प्रमुख छविलाल खतिवडाले बताए ।

पशुपतिनगर नाका भएर दैनिक एक सयभन्दा बढी भारतीय सवारीसाधनमा पर्यटक नेपाल भित्रिने गरेको बताइएको छ । कर सङ्कलन केन्द्रबाट विशेष गरी भारतीय सवारी साधनलाई सुविधा भएको सूर्योदय उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राईले बताए । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईसमक्ष उद्योग वाणिज्य सङ्घले कर सङ्कलन केन्द्र स्थापनाका लागि पहल गरेपछि कार्यालय स्थापना भएको बताइएको छ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्