बिर्तामोड,माघ ९। झापाको बिर्तामोडमा मंगलवारदेखि दोस्रो आदिवासी जनजाति बिर्तामोड महोत्सव शुरु भएको छ ।

सिटीसेन्टर, धर्मकाँटाको उत्तरपट्टि महोत्सव संचालन गरिएको हो । नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समन्वय परिषदद्वारा मंगलवारदेखि ३० गतेसम्म आयोजित दोस्रो आदिवासी जनजाति बिर्तामोड महोत्सवको बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरिन् । उनले व्यवस्थित रुपमा महोत्सव संचालन गर्न आग्रह गरिन् । आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समन्वय परिषदका अध्यक्ष राजकुमार राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला , बिर्तामोड ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा , १० का वडाध्यक्ष दुर्योधन गुरुङ, विभिन्न जातीय संस्थाका प्रतिनिधिलगायतले शुभकामना मन्तव्य राखेका थिए । महोत्सवमा सयभन्दा बढी स्टल रहेको आयोजकले जनाएको छ । त्यहाँ नगरका १७ वटा जातिको जातीय पहिचान झल्किने स्टलहरु निर्माण गरिएको महासंघले जनाएको छ ।


त्यस्तै खेल तमासा , बाल उद्यान ,अटोमोबाइल्स , आइटीलगायतका व्यावसायिक स्टलहरु रहेको महासंघका वीरेन मेचेले बताए । उनले आदिवासी जनजातिका जातीय परिकारहरुको स्टल पनि रहेको जानकारी दिए । महोत्सवमा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुती रहने छ । द एलिमेन्ट बेन्ड , सविन राईको बेन्ड , पूर्ण राईको बेन्ड , सपना सुमनको बेन्डसंगै कलाकारहरु शान्तिश्री परियार , ज्योति मगर ,मेलिना राई , एलिना चौहान , राजनराज शिवाकोटीलगायत आउने मेला संचालक नारायण अधिकारीले बताए । उनले बुधवार राजनराज शिवाकोटी आउने जानकारी दिए । महोत्सवमा सयपत्री इन्टरटेन्मेन्ट प्रालि दमकको व्यवस्थापकीय भूमिका रहेको छ ।


उद्घाटनअघि नगरका आदिवासी जनजातिहरुले बाजागाजासहित झाँकी प्रस्तुत गरिएको महासंघका नगर अध्यक्ष राजवंशीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्