झापा, माघ १० । नेपालले आईसीसी यू–१९ विश्वकप क्रिकेटमा पाकिस्तानलाई १ सय ९८ रनको लक्ष्य दिएको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभर पूरा खेली १ सय ९७ रनमा अलआउट भयो ।
बुफेलो पार्कमा नेपालले आक्रामक सुरुवात गरेको थियो । अर्जुन कुमाल र प्रतियोगितामा पहिलो खेल खेलिरहेका विपिन रावलले ४ ओभरमा २९ रन जोडेका थिए ।
पाँचौं ओभरमा अहमद हुसैनले अर्जुनलाई ६ रनमा बोल्ड गरी नेपाललाई पहिलो सफलता दिलाए । उनीपछि आएका आकाश त्रिपाठी पनि ६ रनमै आउट भए ।

विपिनले नेपालबाट सर्वाधिक ३९ रन बनाए । उनले ६८ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । कप्तान देव खनालले २३ रन बनाए । उनले ३७ बल खेली ३ चौका प्रहार गरे । उत्तम थापामगर ४ र गुल्शन झा १८ रनमा आउट भए । गुल्शनले ४७ बल खेले पनि कुनै बाउन्ड्री प्रहार गर्न सकेनन् ।

दीपक डुम्रेले १ छक्का प्रहार गरी ५८ बलमा २६ रन बनाए । दीपेश कँडेलले २ चौका प्रहार गरी १७ बलमा १३ रन बनाए । इनिङ्सको अन्तिम दुई बलमा अराफत मिनहासले सुवास भण्डारी र दुर्गेश गुप्तालाई आउट गरे ।सुवासले २४ बल खेली २० रन बनाए । आकाश चन्द ११ बल खेली १ चौका र १ छक्का प्रहार गरी १६ रनमा अविजित रहे । पाकिस्तानबाट मिनहासले १० ओभरमा २ मेडन राख्दै २३ रन खर्चेर ३ तथा उबेद शाह र अहमद हुसैनले २–२ विकेट लिए ।

नेपाल आइतबार आफ्नो पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानलाई १ सय ८१ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्