इलाम, माघ ११ । इलाममा जारी प्रथम इलाम गोल्डकपको उपाधिका लागि बिर्तामोड युनाइटेड झापा र न्युरोड टिम (एनआरटी) काठमाडौं भिड्ने भएका छन् ।

बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा बिर्तामोडले फाइनलमा प्रवेश गरेर उपाधिका लागि एनआरटीसँगको भेट पक्का गरेको हो । बिर्तामोडले पाँचथर फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेको हो ।
निर्धारित समयमा दुवै टिमबाट गोलरहित बराबरी भएपछि टाइब्रेकरमा विजेता निर्धारण गर्नुपरेको थियो । टाइब्रेकरमा झापाका एन्जल गुरुङ, दिवस उराउ, रोहन कार्की र प्रदिप बुढाथोकीले गोल गर्दा विशाल दर्जी गोल गर्न चुके । दर्जीको प्रहार प्रामिज्ये गच्छदारले बचाउ गरे ।

उता पाँचथरका सुदिप श्रेष्ठ र साइमन लिम्बूले गोल गर्दा विजु भुजेल र अशोक खवासले गोल गर्न चुके । भुजेलको प्रहार झापाका गोलकिप्पर सन्दिप लिम्बूले बचाउ गरे भने खवासको प्रहार बारमा ठोक्किएर बाहिरिएको थियो । खेलको म्यान अफ द म्याच विजेता बिर्तामोडका सञ्जित राई घोषित हुँदै उनले नगद पाच हजार प्राप्त गरे । यसअघि एनआरटी आयोजक रेडहर्ष फुटबल क्लबलाई पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ । फाइनल खेल माघ १३ गते हुनेछ ।

रेडहर्ष फुटबल क्लब इलामको आयोजनामा सञ्चालन भइरहेको गोल्डकपमा एक विदेशी टिमसहित ८ वटा टिमको सहभागिता रहेको थियो । विजेताले नगद पाँच लाख र उपविजेताले नगद तीन लाखसहित पदक र प्रमाणपत्र पाउनेछन् ।

सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किप्पर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उदीयमान खेलाडी र उत्कृष्ट कोचलाई खेलको अन्तिम दिन जनही नगद पाँच–पाँच हजार पुरस्कार प्रदान गरिने भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्