दमक, माघ ११ । विद्यालय हातामा पाठ्यपुस्तक लगायत शैक्षिक सामग्रीको बिक्री वितरण भए झापाका पालिकाहरूले नियमन गर्ने बताएका छन्।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापाले विद्यालय हाताबाट शैक्षिक सामग्रीको हुने अवैध बिक्री वितरण नियमन गर्नुपर्ने माग राख्दै झापाका १५ वटै पालिकामा ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्र बुझाएको एक साता नबित्दै विद्यालय हाताबाट शैक्षिक सामग्रीको बिक्री वितरण नगर्न नगराउन मातहतका विद्यालयलाई अधिकांश पालिकाले परिपत्र गरेका छन् । पालिकाले सामुदायिक, संस्थागत र धार्मिक विद्यालयलाई परिपत्र गरेका हुन् ।

पालिकाको परिपत्रलाई अटेर गरी विद्यालय हाताबाट शैक्षिक सामग्रीको बिक्री वितरण गरेको पाइए कानुनसम्मत कारबाही गर्ने अधिकांश पालिकाका प्रमुख प्रशासकीय अधिकृतले बताएका छन् । बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले नेपाल सरकारबाट जसले जुन कामका लागि अख्तियारी लिएको छ, उसले त्यही काम गर्नुपर्ने बताए । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश कार्कीले पनि विद्यालय हाताभित्रबाट पाठ्यपुस्तक लगायत शैक्षिक सामग्रीको बिक्री वितरण भए नभएको अनुगमन गर्ने बताए । गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलवती राजबंशीले नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापाले उठाएको माग जायज भएको बताइन्। उनले पुस्तक प्रकाशक र व्यवसायी इमान्दार भए विद्यालय हाताबाट कुनै पनि शैक्षिक सामग्रीको बिक्री वितरण हुन नसक्ने जिकिर गरिन्।

शिक्षा नियमावली २०५९ को नियम ३७ मा विद्यालय हातामा कुनै पनि शैक्षिक सामग्री बिक्री वितरण गर्न नपाइने व्यवस्था छ। यस्तै संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ संशोधनसहित परिच्छेद ४.४ को ७ मा विद्यालयहरूले आफै पाठ्यपुस्तक तथा स्टेशनरी बिक्री वितरण गर्न नपाउने, विद्यालयबाट निर्धारित ड्रेस कोडको नमुना विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने र विद्यालयले तोकेको स्थानमा पोशाक खरिद गर्न विद्यार्थीलाई बाध्य नगराउने भन्ने व्यवस्था छ ।
तर जिल्लाका केही विद्यालयहरूले पाठ्यपुस्तक र शैक्षिक सामग्रीको खुलेआम बिक्री वितरण गर्ने गरेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापाले आरोप लगाउँदै आएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्