बिर्तामोड, माघ १२ । राष्ट्रिय सभाको निर्वाचनमा धोका पाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा नेकपा एमालेसंग सहकार्य गर्नका लागि पुनर्विचार गर्ने भएको छ ।

कोशीको राष्ट्रिय सभा निर्वाचनमा एमाले–राप्रपा गठबन्धनमा धोकाधडी भएको हो । एमालेकी उम्मेदवार रुक्मिणी कोइरालाले जित निकाल्दा राप्रपाका उम्मेदवार उद्धव पौडेलले भने कोइरालाको जसरी मत पाउन नसकी पराजित भए । त्यसबाट राप्रपा वाणिज्य संघको निर्वाचनमा फेरि एमालेसंग सहकार्य गर्न झस्किएको हो । केही दिनदेखि एमालेसंग निरन्तर वार्तामा रहेको राप्रपाले आज नेपाली कांग्रेससंग वार्ता गर्न लागेको छ । बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका विषयमा आज कांग्रेससंग वार्ता गर्न लागेको राप्रपाकी बिर्तामोड अध्यक्ष रन्जु प्याकुरेलले बताइन् । उनले राष्ट्रिय सभाको निर्वाचनमा धोका पाएकाले एमालेसंगको सहकार्यका विषयमा पुनर्विचार गरिने बताइन् ।

यसअघि वाणिज्य संघको आसन्न निर्वाचनमा एमालेले आफ्नो प्यानलमा राप्रपा पनि आउने बताएको थियो । राप्रपाका तर्फबाट कृष्ण पौडेलले महासचिवमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । नगर अध्यक्ष प्याकुरेलले आफ्नो पार्टीलाई महासचिव पद दिनुपर्ने मुख्य बटमलाइन रहेको बताइन् । राप्रपालाई महासचिव पद दिन एमाले तयार देखिएको छ भने कांग्रेस पनि सकारात्मक रहेको बुझिएको छ । एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी ,नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसंग सहमति गरिसकेको एमालेका नगर इन्चार्ज देवराज कार्कीले बताए । आगामी फागुन १४ गते वाणिज्य संघको निर्वाचन हुँदैछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्