झापा,माघ १२ । झापामा केराखेतीतर्फ किसानको आकर्षण बढेको छ । केराखेतीबाट मनग्य आम्दानी हुने र धानबालीको तुलनामा खेती गर्न सजिलो हुनेहुँदा यसतर्फ किसानको आकर्षण बढेको हो । किसानले धान खेत मासेर केराखेती गरेका हुन् ।

जिल्लामा एक हजार आठ सय ९० हेक्टर जमिनमा केराको व्यावसायिक खेती हुने गरेको कृषि ज्ञानकेन्द्र झापाका प्रमुख सागर विष्टले बताए । केराको फलसँग बोट र पात मलका लागि बहुउपयोगी हुने उनको भनाइ छ । उनले विगत तीन वर्षयता जिल्लामा केराको व्यावसायिक खेती बढेको बताए ।

उनका अनुसार जिल्लाका गौरादह, भद्रपुर नगरपालिका, झापा, कचकवल, बाह्रदशी र कमल गाउँपालिकामा केराको व्यावसायिक खेती रहेको छ । यहाँ वार्षिक ३७ हजार मेट्रिकटन केरा उत्पादन हुने गरेको उनले बताए । प्रमुख विष्टले जिल्लामा गौरीगञ्ज गाउँपालिका र अर्जुनधारा नगरपालिकामा टिस्युकल्चर प्रविधिबाट केराको उन्नत जातको बिरुवा उमार्ने नर्सरी रहेको जानकारी दिए ।

“धान, मकैखेतीभन्दा केराखेतीबाट आम्दानी राम्रो हुन्छ, खेती गर्न पनि सजिलो हुन्छ”, प्रमुख विष्टले भने, “त्यही भएर किसान धान खेत मासेर केराखेतीतर्फ आकर्षित भइरहेका छन् । दश कट्ठा जमिनदेखि ५७ बिघा क्षेत्रफलमा किसानले केराको व्यावसायिक खेती गर्दै आएका छन् । अधिकांश केराखेतीमा लागेका किसान वैदेशिक रोजगारीबाट फर्केका छन् । उनीहरुले परदेशमा रोजगारी गर्न जानुभन्दा स्वदेशमै परिवारसँग बसेर व्यवसाय गर्ने सोच बोकेर युवा केराखेतीमा लागेका छन् । उनले केराखेती प्रवद्र्धनका लागि ज्ञानकेन्द्रले यसै वर्षदेखि गौरीगञ्ज गाउँपालिकामा केरा ब्लक विकास कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्