झापा,माघ १२ । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुको राजस्व सङ्कलनमा १० प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७९-८० को पहिलो छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा निकुञ्जको राजस्व १० दशमलव ५४ प्रतिशतले वृद्धि भएको हो ।

निकुञ्जको तथ्याङ्कअनुसार गत आवको साउनदेखि पुस मसान्तसम्ममा रू. छ करोड २३ लाख २८ हजार राजस्व सङ्कलन भएको थियो । चालु आवको सोही अवधिमा रू. छ करोेड ९६ लाख ७८ हजार सङ्कलन भएको निकुञ्जका सूचना अधिकारी मनोजकुमार मण्डलले जानकारी दिए । उनका अनुसार सङ्ख्यात्मक हिसाबले चालु वर्ष रू. ७३ लाख ५० हजारले बढी राजस्व सङ्कलन भएको हो ।

चालु आवको साउनमा रू. छ लाख ५६ हजार, भदौमा रू. ३३ लाख ९५ हजार, असोजमा रू. दुई करोड दश लाख ५४ हजार, कात्तिकमा रू. तीन करोड १२ लाख २७ हजार, मङ्सिरमा रू. एक करोड एक लाख ४३ हजार र पुषमा रू. ३२ लाख एक हजार राजस्व उठेको सूचना अधिकारी मण्डलले जानकारी दिए ।

निकुञ्जका संरक्षण अधिकृतसमेत रहेका मण्डलका अनुसार सबैभन्दा बढी पर्यापर्यटन शीर्षकबाट रू. छ करोड ६६ लाख ७० हजार, वन पैदावर बिक्री वितरण शीर्षकबाट रू. ४० लाख ८३ हजार, दण्ड सजायबाट रू. २५ लाख सङ्कलन भएको छ । निकुञ्जको प्रमुख राजस्व सङ्कलनको स्रोत नै पर्यापर्यटन रहेको उनको भनाइ छ ।

चालु आवमा २८ हजार तीन सय ९० जना पर्यटकले सगरमाथा क्षेत्र भ्रमण गरेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जले प्रतिव्यक्ति नेपालीबाट प्रवेश शुल्कबापत रू एक सय, सार्क राष्ट्रका पर्यटकबाट रू एक हजार पाँच सय र अन्य विदेशी पर्यटकबाट रू. तीन हजार राजस्व लिने गरेको छ । एक पटक हेलिकप्टर अवतरण गरेबापत रू. तीन हजार अवतरण शुल्क लिने गरिएको छ ।

निकुञ्जको कार्यालयले पर्यटक प्रवेश शुल्कसँगै भरिया प्रवेश शुल्क, साहसिक पर्यटन शुल्क (प्याराग्लाइडिङ, म्याराथन, माउन्टेन फ्लाइट) लगायत शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको संरक्षण अधिकृत मण्डलले बताए । “निकुञ्जको मुख्य आम्दानीको स्रोत भनेकै पर्यटक शुल्क हो”, उनले भने, “विश्वको सर्वोच्च शिखर सगरमाथासहितका दर्जनौँ हिमाल यही निकुञ्जमा पर्ने भएकाले विश्वका धेरै मुलुकका पर्यटक भ्रमणका लागि आउँछन्, त्यही भएर सिजनमा हामीलाई भ्याइनभ्याइ नै हुन्छ । अहिले ‘अफ सिजन’मा केही भए पनि फुर्सद हुन्छ । यो मौसममा पर्यटक कम आउँछन् ।”

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्