कुमरखोद, माघ १२ । खेलप्रेमीहरुले झापा गाउँपालिकामा रहेको जुडो प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई आज जाडोको कपडा वितरण गरेका छन् ।

झापा गाउँपालिका वडा नं २ मा रहेको जुडो प्राथमिक विद्यालयमा अध्ययनरत ४० जना विद्यार्थीलाई जाडोको कपडा वितरण गरिएको हो । झापा जिल्ला जुडो संघका निवर्तमान अध्यक्ष प्राडा पृथ्वीविक्रम राई र नेपाल जुडो संघका केन्द्रीय सदस्य गंगा खड्काले संयुक्त रुपमा न्यानो कपडा वितरण गरेका थिए ।

जुडो संघका केन्द्रीय सदस्य खड्काले आफू स्थानीय भएकाले झापा २ मा रहेको सेन्ट जेभियर्स स्कुल सडकवारी र जुडो प्राथमिक विद्यालयसँग समन्वय गरी विद्यार्थीहरुलाई जुडोसम्बन्धी खेलको प्रशिक्षण गराई राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने बताए । आफू जुडो खेलाडी भएकै कारण यस ठाउँमा जुडो स्कुलको स्थापना गरेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दबहादुर खड्काको अध्यक्षता तथा सेन्ट जेभियर्स विद्यालयका फादर भिक्टर वेकको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा जुडो राष्ट्रिय रेफ्री तथा प्रशिक्षक जगतबहादुर खड्का, झापा जिल्ला जुडो संघका पूर्व अध्यक्ष मणिराज गणेश, जुडो राष्ट्रिय खेलाडी मंगलु मेचेलगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको संचालन शिक्षिका टिकादेवी बानियाले गरेकी थिईन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्