बिर्तामोड,माघ १२ । बिर्तामोड नगरपालिका वडा नम्वर २ मा रहेको चारपाने स्वास्थ्य चौकीको शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।


गत जेठ १६ गतेबाट सञ्चालनमा आएको स्वास्थ्य चौकीलाई बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरेकी हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईले जग्गादाताले जग्गा दिएको ११ बर्ष पुग्दा पनि विविध राजनीतिक परिस्थितिका कारणले समयमै स्वास्थ्य चौकी बन्न नसक्नु दुःखको कुरा भएकोे बताइन् । उनले मनलाई उदार बनाएर सात कठ्ठा जग्गा अस्पताल निर्माणका निम्ति प्रदान गरेकोमा स्थानीय समाजसेवी चन्द्रप्रसाद बजगाईलाई विशेष धन्यवाद दिइन् ।
बिर्ता आई अस्पतालको प्राविधिक सहयोगमा आयोजित निःशुल्क आँखा शिविरलाई नगरप्रमुख प्रसाईले आफ्नो आँखा परीक्षण गराएर उद्घाटन गरिन् । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै बिर्तामोड वडा नम्वर २ का अध्यक्ष किशोरकुमार पौड्यालले स्वास्थ्य चौकी निर्माण गर्न जग्गा उपलव्ध गराउने दाता बजगाई एवं उनको परिवारलाई यस क्षेत्रका नागरिकले कहिल्यै बिर्सिन नसक्ने बताए ।

२०७१ सालमा करिव २ करोड बराबरको जग्गा अस्पतालको नाममा दान दिएका बजगाईले ११ बर्ष लाग्दा पनि आफूले अपेक्षा गरेअनुरुपको अस्पताल निर्माण हुन नसकेको भन्दै दुखेसो पोखे । भोलिका दिनमा अस्पतालको स्तरोन्नतिका लागि केही आवश्यक परे आफू सहयोग गर्न तयार रहेको उनले बताए ।

कार्यक्रममा जग्गादाता चन्द्रप्रसाद बजगाई, शान्ता बजगाई, चारपाने स्वास्थ्य चौकीका पूर्व इन्चार्ज शिवप्रसाद शाहलगायत लामो समय स्वास्थ्य सेवामा रही अवकाश लिएका स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको थियो । बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, बिर्तामोड नगर अस्पतालका प्रमुख सुनिल अधिकारी, एकता स्पोर्टिङ क्लवका अध्यक्ष किरण पौड्याल, समाजसेवी भवानी ओलीलगायत राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यपालिका सदस्य सर्मिला त्रिखत्रीले स्वागत गरेको कार्यक्रमको सञ्चालन स्वास्थ्य चौकी इन्चार्ज तुलसी पोखरेलले गरेका थिए । स्वास्थ्य चौकीबाट वडाबासीलाई सर्वसुलभ उपचार सेवा उपलब्ध गराउने वडासचिव हिमा पोख्रेलले बताइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्