झापा, माघ १२ । अफगानिस्तानमाथि १ विकेटको ऐतिहासिक विजय हात पार्दै नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको छ ।

आकाश चन्दले बलिङ र कप्तान देव खनालले ब्याटिङमा शानदार प्रदर्शन गरेपछि समूह चरणको निर्णायक खेलमा नेपालले अफगानिस्तानको चुनौतीलाई पन्छाउँदै दोस्रो चरण पुगेको हो ।

आकाशले ५ विकेट लिएपछि पहिला ब्याटिङ गरेको अफगानिस्तानलाई नेपालले ४०.१ ओभरमा अलआउट गरेको थियो । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा देवले अविजित ५८ रन बनाएपछि नेपालले ४३ ओभरमा विजय लक्ष्य पूरा गरेको हो । नेपालले सन् २०११ यता पहिलो पटक अफगानिस्तानलाई पराजित गरेको हो ।

यस नतिजापछि नेपाल तेस्रो पटक यू–१९ विश्वकपको दोस्रो चरणमा पुगेको हो । यसअघि श्रीलंकामा सन् २००० मा र बंगलादेशमा २००२ मा भएको यू–१९ विश्वकपमा पनि नेपालले पहिलो चरण पार गरेको थियो ।
समूह ‘डी’ बाट यसअघि नै पहिलो दुई खेल जितेर न्युजिल्यान्ड र पाकिस्तानले सुपर सिक्समा स्थान सुरक्षित गरेका थिए । नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । अफगानिस्तानले सबै तीन खेलमा पराजय भोगेको हो ।

नेपालको सुरुवात राम्रो थिएन । अर्जुन कुमाल १० रन बनाई बोल्ड भए । अर्का ओपनर विपिन रावल पनि २ रन बनाई एलबीडब्लु आउट भए । तेस्रो नम्बरमा पठाइएका गुल्शन झाले १ रनमात्र जोड्न सके । देव र आकाश त्रिपाठीले चौथो विकेटमा ४९ रनको साझेदारी गरे । आकाशले ३९ बल खेली १ चौका प्रहार गर्दै १६ रन बनाए ।

दीपक डुम्रे ५ र दीपेश कँडेल ४ रनमा आउट भएपछि नेपाल ९१–६ को स्थितिमा पुगेको थियो । त्यसपछि देव र दीपक बोहराले ३६ रनको निर्णायक साझेदारी गरे । देवले ८९ बल खेली ७ चौका प्रहार गरे । नेपाललाई विजयभन्दा ६ रनमात्र टाढा भएको समयमा दीपक बोल्ड भए । उनले ४२ बल खेली ४ चौका प्रहार गर्दै २७ रन बनाए । आकाश चन्द पनि १ रनमा आउट भएपछि स्कोर बराबर भएको निकै रोमाञ्चक स्थितिमा सुवास भण्डारीले चौका प्रहार गरे । उनी ९ रन बनाई अविजित रहे ।
आकाशको सानदार बलिङपछि यसअघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तान धरासायी भएको थियो । गुल्शनसँग नयाँ बल लिएर आएका उनले आफ्नो पहिलो स्पेलमै ५ विकेट लिएका थिए । आकाशले ८ ओभरमा ३५ रन खर्चदै आफ्नो ओपनिङ स्पेलमा एकपछि अर्को विकेट लिएका थिए ।

गुल्शनले पहिलो ओभरमै नुमन शाहलाई शुन्यमा आउट गरि नेपाललाई पहिलो सफलता दिलाएपछि आकाशले चम्किलो बलिङ गरेका थिए । दीपेशले तल्लो क्रममा दुई विकेट लिए । उनले ८ ओभरमा एक मेडन राख्दै १७ रन खर्चे । गुल्शनसहित सुवास र तिलक भण्डारीले १–१ विकेट लिए ।

नुमनसहित अफगानिस्तानबाट खालिद तानिवाल, अलि अहमद र अरव गुल शुन्यमा आउट भए । माथिल्लो क्रममा हसन इसाखिलले २२ रन बनाएका थिए भने अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । तल्लो क्रममा एम घाजनफारले ३७, कप्तान नासिर खानले ३१ र फारिदुन दावुदजाईले २९ रन बनाए । घाजनफारले २१ बल खेली ४ चौका र ३ छक्का प्रहार गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्