झापा, माघ १४। शारीरिक सम्पर्क गरेर बिहे प्रस्ताव अस्वीकार गर्दा झापाको अर्जुनधारा ६ मा ५० वर्षीया माया पुलामी मगरको हत्या भएको खुलेको छ ।

हत्यामा संलग्न बिर्तामोड नगरपालिका वडा नं ८ गरामनी स्थायी ठेगाना भई बिर्तामोड ५ मा डेरा गरी बस्ने ४६ वर्षीय चन्द्रप्रसाद प्रसाई पक्राउ परेपछि सो कुरा खुलेको हो । शनिवार पक्राउ परेका प्रसाईलाई प्रहरीले आइतवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरीले दिएको विवरण अनुसार अविवाहित रहेका प्रसाई कामको सिलसिलामा भारतको आसाम डिब्लुगढमा १७ वर्ष काम गरी २०७२ सालमा बिर्तामोड फर्किएका थिए । उनी बिर्तामोड नगरपालिका वडा नं ५ हर्कलाल मार्गस्थित दिलु मुखियाको निर्माणाधीन घरमा कामको सिलसिलामा अस्थायी रुपमा बस्ने गरेका थिए ।

प्रसाईको माघ ६ गते माया र उनको साथी एन राईसँग बिर्तामोड नगरपालिका वडा नं १ स्थित पश्चिम स्टेण्डमा भेट भएको थियो । उनै एन राईले प्रसाई र मायाबिच शारीरिक सम्वन्ध राख्न सहमति गराएकी थिइन् । प्रसाईले आफ्नो कोठामा लगी निर्माणाधीन घरको दोस्रो तलामा मायासंग एक पटक शारीरिक सम्बन्ध राखेका थिए । सोही समयमा मायासंग माघ ७ गते राति भेट्ने सल्लाह भएको थियो । ७ गते साँझ प्रसाईले मायालाई खोज्दै उनी बस्ने ठाउँतिर जाँदा अर्जुनधारा ६ पुलचौकमा मायासँग भेटघाट भई बीग ब्रदर लेखिएको व्याटमिन्टन खेल्ने कवर्डहलको ढोका छेउमा बसी कुराकानी गर्ने क्रममा प्रसाईले मायासँग विवाह गर्ने प्रस्ताव गर्दा मायाले प्रसाईको दाहिने आँखामा हातले हानेकी थिइन् । आँखामा चोट लागेपछि प्रसाईले सडकमा रहेको ढुङ्गा टिपी मायाको टाउकोमा पटक पटक प्रहार गरी हत्या गरेका थिए ।

प्रसाईले ढुंगा शव रहेको ठाउँबाट उत्तरतर्फ बारीमा फ्याकेर आफू फरार भएको इलाका प्रहरी कार्यालय बिर्तामोडमा डीएसपी सुरज कार्कीले बताए । प्रसाईलाई पक्राउ गरी अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको डीएसपी कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रहरीले रगत लागेको ढुंगा ,मृतक मायाले लगाएको स्विटरको गोजी भित्रबाट नेपाली दरको २० को नोटहरु ३ थान, रु १० को नोटहरु ५ थान, रु ५ को नोटहरु ५ थान, दाहिने गोजीभित्रबाट बाबा लेखिएको सुर्ती , बिडीको ठुटा, खुकुरी चुरोटको ठुटा बरामद गरेको डीएसपी कार्कीले बताए । त्यस्तै प्रसाईले घटनाको बखत लगाएको रगत लागेको जम्पर र कालो रंगको कटनको पेन्टसमेत बरामद भएको उनले जानकारी दिए ।

इलाम माई नगरपालिका वडा नं २ महमाई माइती घर भई बिर्तामोड ५ मा बस्दै आएकी मायाको शव माघ ८ गते बिहान अन्दाजी ६ बजे बीग ब्रदर कवर्डहल अगाडि फेला परेको थियो ।माइत कार्की थर भएकी मायाको तीनजना श्रीमानहरुमध्ये जेठोतर्फको श्रीमानबाट २ छोरा र २ छोरीको जन्म भएको थियो । उनी छोरा बुहारीसंग बस्दै आएकी थिइन् । घटना हुनुभन्दा केही दिन अघिदेखि उनी छोराबुहारीको घर छोडेर अर्जुनधारा ६ स्थित गाउँघरमा काम खोज्दै गर्दै बस्ने गरेकी थिइन् । गाउँघरमा आचरण बुझ्दा उनी दिनहुँ मादक पदार्थ सेवन गर्ने र गाउँमा रहेका घरहरुमा घरायसी काम गर्ने गरेकी थिइन् । घटनाका समयमा पनि उनले मादक पदार्थ सेवन गरेको भेटिएको प्रहरीले जनाएको छ ।

घटना भएपछि प्रहरीले कुकुर मगाएर अनुसन्धान गरेको थियो । पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी दीपक भारती , जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ढुन्डिराज गिरीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्