बिर्तामोड, माघ १४ । बिर्तामोड नगरपालिका ८ नं वडा कार्यालयले अपांगता भएका र विपन्न ज्येष्ठ नागरिकहरुलाई यस वर्ष पनि जाडोको लुगा वितरण गरेको छ ।

वर्षेनि न्यानो लुगा बाँड्दै आएको ८ नं वडा कार्यालयले आइतवार कार्यालयमा एक कार्यक्रम गरी अपांगता भएका ५० जना र ७७ जना विपन्न ज्येष्ठ नागरिक गरी १२७ जनालाई जाडोको लुगा वितरण गरेको हो । वडा कार्यालयले गत वर्ष ती लक्षित समूहलाई ब्लांकेट वितरण गरेको थियो । वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष अजय कार्की, वडा सदस्य सोयालाल राजवंशी,वडा सचिव वेदप्रकाश अधिकारी , वडाको मेलमिलाप समितिका सदस्य कृष्ण श्रेष्ठलगायतले अपांगता भएका र ज्येष्ठ नागरिकलाई जाडोको लुगा वितरण गरेका थिए ।

स्थानीय सरकारको दायित्व निर्वाह गर्नेक्रममा आफ्ना वडाभित्र रहेका अपांगता भएका र विपन्न ज्येष्ठ नागरिकहरुलाई जाडोमा समस्या नहोस् भनेर न्यानो लुगा वितरण गरिएको वडाध्यक्ष कार्कीले बताए । उनले केही दिनपछि शुक्रराज आधारभूत विद्यालयका २३७ जना विद्यार्थीलाई स्कुले जुत्ता वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिए । अपांगता भएका र ज्येष्ठ नागरिकहरुलाई जाडोको लुगा वितरण गर्न वडा कार्यालयले डेढ लाख रुपैयाँ छुट्याएको थियो । गरिव , असहाय र दीनदुखीका लागि सहयोग गर्न वडाध्यक्ष कार्की अगाडि देखिएका छन् । त्यही लोकप्रियताका कारण उनले दोस्रो पटक वडाध्यक्ष जितेका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्