झापा, माघ १४। झापाको दुई ठाउँमा आइतवार साँझ आगलागी भएको छ । आगलागीबाट बाख्रा र कुखुरासहित लाखौंको क्षति भएको छ ।

साँझ ६ः५० बजेको समयमा बाह्रदशी ७ डाँगीबारीमा बिजय राजवंशीको टिनको छानो टाटीबेराले बनेको भान्सा घर र बाख्राको गोठमा अचानक आगलागी भएको हो । आगलागीबाट भान्सा कोठामा रहेको अन्नपात ,लत्ताकपडा ,भाँडावर्तन , गोठ र गोठमा रहेको ७ वटा बाख्रामध्ये २ वटा जलेर मर्दा अन्दाजी डेढ लाख बराबरको क्षति भएको छ । ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट टोली खटिगई स्थानीय र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा साँझ ७ः४० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै आइतवार साँझ नै ५ः१० बजेको समयमा गौरादह ४ धरधरे बस्ने सोमबहादुर श्रेष्ठले संचालन गरेको टिनको छानो र तारको जाली लगाएको बोईलर कुखुरा फर्ममा बिद्युत सर्ट भई अचानक आगलागी भएको छ । आगलागीबाट फर्म, फर्मभित्र रहेको कुखुराको दाना, ७०० थान ३२ दिने कुखुरा समेत जलेर नष्ट हुँदा अन्दाजी १० दश लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालया प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए । उक्त आगो प्रहरी चौकी महारानीझोडाबाट खटिएको प्रहरी टोली, स्थानीयबासी र गौरादह नगरपालिकाको दमकलको सहयोगमा साँझ ५ः४५ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्