बिर्तामोड, माघ १७ । बिर्तामोड उद्योग वाणिज्य संघको आगामी निर्वाचनको लागि खडा गरिएको ‘स्वतन्त्र व्यावसायिक प्यानल’ले ४ जना पदाधिकारीको उम्मेदवार टुङ्गो लगाएको छ ।

नेकपा एमालेसहित विभिन्न ५ वटा दलमा आवद्ध व्यवसायीहरुको प्यानलमा अध्यक्षमा अर्जुनकुमार मैनाली, वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), महासचिवमा कृष्ण पौडेलको नाम टुङ्गो लागेको हो । यसैगरी व्यवसायी ओमप्रकाश श्रेष्ठले पनि पदाधिकारीमै कुनै एउटा पद पाउने निश्चित भएको छ । बाँकी पदाधिकारी तथा सदस्यहरुको नाम टुङ्याउने विषयमा भने व्यवसायीहरुको आन्तरिक छलफल चलिरहेको छ ।

अध्यक्षका उम्मेदवार मैनाली वर्तमान महासचिव र वरिष्ठ उपाध्यक्षका उम्मेदवार घिमिरे वर्तमान वाणिज्य उपाध्यक्ष हुन् । फागुन १४ हुने निर्वाचनका लागि दलहरु आफ्नो उम्मेदवार छनोटको प्रक्रियामा छन् । स्वतन्त्र व्यावसायिक प्यानलमा अन्य केही व्यवसायीको नाम पनि चर्चामा छ । युवराज निरौला, लक्ष्मीप्रसाद सापकोटा, गोमा भट्टराईलगायतको नाम चर्चामा रहेको हो ।

स्वतन्त्र व्यावसायिक प्यानलका उम्मेदवारहरु सदस्यता नविकरण तथा मतदातासंगको भेटघाटमा व्यस्त छन् । बिर्तामोड नगरपालिका क्षेत्रभित्र रहेका बजार, पसलमा पुगेर मतदातासंग भेटघाट तथा सदस्यता नविकरण गराउने काम भईरहेको व्यवसायी युवराज निरौलाले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्