बिर्तामोड, माघ १७ । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले दुई सय ४० जना बृद्धबृद्धालाई ब्लांकेट वितरण गरेको छ ।

बिर्तामोड ७ स्थित नेत्रपार्कमा कार्यक्रम आयोजना गरी बिर्तामोड–७ का बृद्धबृद्धालाई सिम्रिक साकोसले मिष्ठान्न भोजनसहित ब्लांकेट वितरण गरेको संस्थाका अध्यक्ष सुवास भट्टराईले बताए । उनले संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बृद्धबृद्धालाई मिष्ठान्न भोजनसहित ब्लांकेट वितरण गरेको जनाए ।संस्थाका अध्यक्ष भट्टराईको अध्यक्षता तथा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत मन्तव्य बिर्तामोड –७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले गरेका थिए । कार्यक्रममा संस्थाको गतिविधिसहित कार्यक्रमको औचित्यमाथि संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले प्रकाश पारेका थिए । सिम्रिक साकोसले यस वर्ष चौथो कार्यक्रमको रुपमा व्लांकेट वितरण गरेको हो । यसअघि संस्थाले बाह्रदशी १ ,बिर्तामोड ६ र बुद्धशान्ति गाउँपालिकामा बृद्धबृद्धालाई ब्लांकेट वितरण गरेको थियो ।

कार्यकारी प्रमुख बस्नेतले शेयर सदस्यसहित अन्य व्यक्तिलाई स्वास्थ्य सेवा पुर्याउन कचनकवलमा स्वास्थ्य शिविर गर्नुका साथै बिर्तामोड –१०मा रहेको बिराट आधारभूत विद्यालयको पुस्तकालयलाई पुस्तक वितरण गरिएको बताउँदै चाँडै पाँचथर यासोकका बृद्धबृद्धालाई मिष्ठान्न भोजनसहित ब्लांकेट वितरण गरिने जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथि सभामुख देवराज घिमिरे, कोशी प्रदेश सांसद एकराज कार्की, बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई, सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बद्री प्याकुरेललगायतले शुभकामना मन्तव्य राख्दै सिम्रिक साकोसले गरेको कार्यको प्रशंसा गरेका थिए । कार्यक्रममा बिर्तामोड ७ नं वडा कार्यालय र सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समितिको आर्थिक सहयोग रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका जोखिम विभाग प्रमुख विजय बस्नेतले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्