झापा,माघ १८ । वैदेशिक रोजगारको सिलसिलामा दुबई पुगेका झापाका एक युवकको झापा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माको पहलमा उद्धार गरी नेपाल ल्याइएको छ ।

झापा भद्रपुर नगरपालिका–१० चन्द्रगढीका अजित राजवंशी दुबईमा बिरामी भएर थला परेपछि काम गर्न नसक्ने अवस्थामा पुगेका थिए। काम गर्न छोडेपछि पैसा पनि नभएर अलपत्र अवस्थामा पुगेका अजितलाई सांसद शर्माको पहलमा उद्धार गरिएको हो ।

दुबईमै रहेका भद्रपुरकै युवा प्रवीण चौहानले फेसबुकमार्फत सांसद शर्मालाई जानकारी गराएपछि, अजितको उद्धारको प्रक्रिया सुरु भएको थियो । नेपाली काँग्रेसका महामन्त्री समेत रहेका सांसद शर्माले दुबईस्थित नेपाली जनसम्पर्क समितिका अध्यक्ष भवानीप्रसाद तिम्सिनालाई सम्पर्क गरेर अजितको जसरी भएपनि उद्धार गर्न आग्रहसहितको निर्देशन दिएपछि जनसम्पर्क समितिले तत्काल अजितको नेपाल फर्किने प्रक्रिया सुरु गरेको थियो ।

कम्पनीको असहयोग, कानुनी र व्यवहारिक जटिलताका कारण करिब एक महिनापछि अजित हिजो काठमाडौँ आईपुगे। उनलाई दुबईको एयरपोर्टबाट नेपाली जनसम्पर्क समिति युएईका अध्यक्ष तिम्सिनाले बिदाइ गरेका थिए भने काठमाडौँको एयरपोर्टमा सांसद शर्माका तर्फबाट नेपाली काँग्रेस झापा १ काठमाडौँ सम्पर्क समितिका सभापति प्रज्वल कोइरालासहित समितिका सदस्यहरूले स्वागत गरेका थिए । अजित आज माघ १८ गते अपराह्न झापा चन्द्रगढीस्थित घर आईपुग्ने बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्