बिर्तामोड,माघ १८ । बिर्तामोड ९ गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयले दाता , अभिभावक , शिक्षक र संचारकर्मीलाई सम्मान गर्दै ६८ औं वार्षिकोत्सव मनाएको छ ।

हिजो विद्यालयमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेलगायतले उनीहरुलाई सम्मान गरेका हुन् । सम्मानित हुने विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरुमा गंगाप्रसाद प्रसाई , गोपिचन्द्र मैनाली , भद्रप्रसाद चुडाल , उदिम उप्रेती ,एकराज कार्की , छविलाल प्रसाई र प्रेम थापा रहेका छन् । त्यस्तै पूर्व प्रधानाध्यापकहरु नारायण उप्रेती , जयकुमार प्रसाई , मातृकाप्रसाद पाठक,खड्गप्रसाद पाण्डे,गुरुभक्त न्यौपाने र कृष्णप्रसाद पाठक सम्मानित भएका छन् ।त्यस्तै जग्गादाता परवलाल राजवंशीका परिवारका सदस्य फलिता राजवंशीलाई सम्मान गरिएको थियो । राजवंशी परिवारले विद्यालयलाई ३ विगाह ७ कठ्ठा १५ धुर जग्गा दान दिएका थिए । त्यस्तै खतियासिंह राजवंशी स्मृति अक्षयकोषका दाता परिवारका तर्फबाट प्रेमा राजवंशी र संजय राजवंशीलाई सम्मान गरिएको थियो । राजवंशी परिवारले विद्यालयमा ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका छन् । सोही कोषबाट दुर्गा माविका शिक्षक निरतलाल राजवंशी र देवकोटा आधारभूत विद्यालयका टीका चौधरी नगदसहित सम्मानित भएका छन् ।

त्यस्तै दीर्घसेवी शिक्षकको रुपमा जनार्दन मिश्र र कुमार खरेल सम्मानित भएका छन् भने उत्कृष्ट पूर्व विद्यार्थीको रुपमा आकृति खरेल , उत्कृष्ट अभिभावक एजमिरा खातुन र उत्कृष्ट संचारकर्मीको रुपमा नेपाल टेलिभिजनका संवाददाता इन्द्रजीत मुखिया सम्मानित भएका छन् । त्यस्तै विद्यालयले वर्ष उत्कृष्ट शिक्षकको रुपमा धर्मेन्द्र भट्टराईलाई सम्मान प्रदान गरेको छ ।

विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक लक्ष्मण सिवाकोटीले ट्युसनको रुपमा एउटा घरबाट सो विद्यालयको स्थापना भएको बताए । सो विद्यालय २०१२ सालमा ‘महेन्द्र प्राइमरी पाठशाला’को रूपमा स्थापना भएको हो। ‘बच्चु डाक्टर’ नामक एक शिक्षाप्रेमीले धिमाल राजवंशीको घरमा पाँच जना विद्यार्थी जम्मा गरेर पढाउन शुरु गरेका थिए। त्यसपछि गरामनी गाविसका संस्थापक सदस्य स्वर्गीय दीनानाथ शर्मा घिमिरे ‘हाजिराबाजे’, स्वर्गीय गोपालसिंह कार्की, स्वर्गीय सतालसिंह राजवंशी र स्वर्गीय कृष्णप्रसाद प्रसाईको सक्रिय सहभागिता र स्थानीयको सहयोगमा एउटा कुटी निर्माण गरी पढाउन थालियो । त्यसको नाम ‘श्री महेन्द्र पाठशाला’ राखिएको थियो। त्यसपछि अध्यक्ष स्वर्गीय कृष्णप्रसाद प्रसाईको नेतृत्वमा २०२४– २०२५ सालमा ६ कोठा भएको विद्यालयको ब्लक, बलियो पर्खाल र टिनको छानासहित निर्माण गरिएको थियो। त्यसपछि विद्यालयको पुरानो नामलाई ‘श्री दुर्गा निम्न माध्यमिक विद्यालय’को रूपमा परिवर्तन गरियो । २०३८ देखि प्रस्तावित माध्यमिक विद्यालयको रूपमा संचालन गर्न थालिएको विद्यालयमा प्रभावकारी आन्तरिक व्यवस्थापन नभएका कारण २०४३ सालसम्म कक्षा ८ सम्म मात्रै सञ्चालन हुन सकेको थियो । त्यसपछि क्रमशः ९ र १० कक्षा संचालन भएको थियो। २०४५ को एस. एल. सी. परीक्षामा पहिलो पटक सामेल भई यस विद्यालयले त्यस बेलादेखि नै राम्रो नतिजा ल्याइरहेको प्रधानाध्यापक सिवाकोटीले बताए । उनका अनुसार खेलकुदलगायत विभिन्न क्षेत्रमा जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालयमध्ये एकको रूपमा चिनिएको छ।

यस विद्यालयलाई हालको अवस्थासम्म ल्याइपुर्याउन धेरैले आ–आफ्नो तर्फबाट सहयोग गरेका छन् । लुथरनको सहयोग र जनताको सहभागितामा टिनको छानासहितका आठ वटा ब्लकमा २७ कोटा भएका चारवटा भवन निर्माण भएका छन्। कारितास नेपाल, जिल्ला विकास समिति, स्थानीय संघ संस्था, शिक्षक, कर्मचारी र अभिभावकको सहयोगमा ९ कोठाको पक्की भवन निर्माण भएको हो । विद्यार्थीको मेहनत, शिक्षकको लगनशीलता र व्यवस्थापन समितिको राम्रो रेखदेखका कारण विद्यालयले एस.इ.ई. परीक्षामा राम्रो नतिजा हासिल गर्दै आएको सिवाकोटीले बताए । यस विद्यालयले २०६७ सालदेखि कक्षा १२ सम्मको पठनपाठन संचालन गर्दै आएको छ ।

हाल यस विद्यालयमा बाल कक्षादेखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरूको संख्या ८५० भन्दा बढी रहेको छ । विभिन्न क्षेत्रका विद्यार्थीहरूलाई शिक्षा दिने क्रममा २०५० देखि दृष्टिविहीन तथा न्यूनदृष्टि भएका बालबालिकाहरूलाई यस विद्यालयले विशेष शिक्षा परियोजनाअन्तर्गत शिक्षा प्रदान गर्ने कार्यको थालनी गरेको हो। करिव ७० जनाभन्दा बढी दृष्टिविहीन तथा न्यूनदृष्टि युक्त विद्यार्थीहरूले यसै विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरी हाल विभिन्न पेशा तथा रोजगारीमा संलग्न भई आफूलाई अब्बल नागरिकको परिचय दिन सक्षम भएका छन्। मेनुका पौडेल जस्ता विदेशमा समेत सांगीतिक क्षेत्रमा तहल्का मचाउन सफल कलाकार सोही विद्यालयले उत्पादन गरेको छ । हाल १२ जना दृष्टिविहीन तथा २ जना न्यूनदृष्टि युक्त विद्यार्थीहरू गरि जम्मा १४ जना विद्यार्थीहरू यस विद्यालयको स्रोतकक्षादेखि कक्षा १० सम्म आवासीय रूपमा अध्ययन गरिरहेका छन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद एकराज कार्की , बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला , शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार विकलगायतले शुभकामना मन्तव्य राखेका थिए । सहायक प्रधानाध्यापक लेखनाथ सुवेदीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन शिक्षकहरु धर्मेन्द्र भट्टराई र उमानाथ भण्डारीले गरेका थिए । कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुले नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्