झापा, माघ १८ । लम्बेतान आसन ग्रहण र संबोधनबिना नै झापाको गौरादहमा आज कार्यक्रम सम्पन्न गरिएको छ ।

समयलाई ख्याल गर्दै सहभागीहरुलाई दिक्क नलाग्ने गरी प्रमुख अतिथि, अतिथि र संबोधनबिना नै कार्यक्रम गरिएको हो । फरेष्टएक्सन नेपालको परियोजनाअन्तर्गत काठमाण्डौं फरेष्ट्री कलेजको आयोजनामा गौरादह नगरपालिकाको सभाहलमा भएको मिचाहा प्रजाति व्यवस्थापन कार्यशाला गोष्ठीमा गौरादह, दमक , कमल र गौरीगञ्जका जनप्रतिनिधि ,कर्मचारी ,किसान , सहकारीकर्मीलगायत गरी ५० जना सहभागी थिए । तर, कसैलाई पनि प्रमुख अतिथि र अतिथि बनाइएन । न उनीहरुलाई संबोधन नै गरियो ।कार्यक्रममा गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदी पनि उपस्थित थिए । कार्यक्रममा फरेष्टएक्सन नेपालका लिलानाथ शर्मा र महेन्द्र मोरङ क्याम्पस विराटनगरका प्राध्यापक डा. तिलक गौतमले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस कार्यपत्रमाथि ११ जनाले जिज्ञाशा र धारणा राखेका थिए ।

हिजो काठमाडौंमा २४ वटा निकाय र संस्थाको सहभागितामा भएको कार्यक्रम पनि त्यसरी नै गरिएको थियो । केही दिनअघि काठमाडौमा कृषि विभाग र खाद्यका लागि कृषि अभियानद्वारा आयोजित कार्यक्रममा पनि प्रमुख अतिथि,मुख्य अतिथि,बिशिष्ट अतिथि ,बिशेष अतिथि,अतिथिहरु राखिएको थिएन । त्यस्तै आसन ग्रहण,खादा,माला,मिनरल वाटर,पट्यारलाग्दो सम्बोधन,मन्च पनि थिएन । किसानदेखि नेपाल सरकारका सहसचिव, विभागका महानिर्देशक, कार्यालय प्रमुखहरु सहभागी कार्यक्रममा बिषयबस्तुमाथि गम्भीर छलफल भएको फरेष्टएक्सन नेपालका शर्माले जानकारी दिए ।

यसअघि पाँचथरको फालेलुङ गाउँपालिकाले त्यहाँका सरकारी र गैरसरकारी कार्यालयसँगै शैक्षिक र सामाजिक संंस्थाले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा आयातित खादा, ब्याच र प्लाष्टिकका माला प्रयोग गर्न रोक लगाइसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्