बिर्तामोड, माघ २१ । बिर्तामोड नगरपालिकामा नेपालकै ठूलो चर्च निर्माण गरिएको छ ।

वडा नम्बर ४ मा नवनिर्मित सन्त पावल विलिभर्स ईष्टर्न चर्च भौतिक संरचना र क्षेत्रफलको हिसाबले नेपालकै ठूलो , ब्यवस्थित र नमूनाको रुपमा रहेको हो । करिव तीन करोडको लागतमा यस सेवा भवनको निर्माण कार्य तीन वर्षअघि शुरु भएको थियो । यो सेवा भवन पूर्वीय परम्परागत नियम तथा विधि अनुसार संचालन गरिने हुनाले यसको संरचना त्यही अनुसार निर्माण गरिएको जनाइएको छ । साढे नौ कठ्ठा क्षेत्रफलमा फैलिएको यो सेवा भवनमा एक हजार सहभागी अट्ने क्षमता रहेको छ । आकर्षक पार्क , चमेना गृह निर्माण गरिएको यस चर्चलाई अवलोकन गर्न आउनेहरुले सेल्फी तथा फोटो, भिडियो खिच्न रुचाउने गरेको पाईएको चर्चका सेवक वीरु दर्नालले बताए ।बाँसको टाटी र छानोमा २०५१ सालमा २ जनाबाट सुरु गरिएको सेवा आज यो सेवा भवन निर्माण गर्दासम्म ७ सयबढीको संख्यामा पुगेको छ । यो चर्च तत्कालीन पास्टर हाल विशप डीबी तामाङले सुरु गरेका थिए ।


सन्त पावल विलिभर्स ईष्टर्न चर्च बिर्तामोडको नवनिर्मित सेवा भवनको धार्मिक विधि अनुसार शुक्रवार अर्पण कार्य सम्पन्न भएको छ । साथै शनिवार एक कार्यक्रमका बीच सार्वजनिकीकरणसमेत गरिएको छ । दिल्ली आर्क डायोसिसका आर्क विशप हिज ग्रेस जाने आईरेनियस एपिस्कोपाले धार्मिक विधि अनुसार शुक्रबार सेवा भवनको अर्पण कार्य सम्पन्न गरेका हुन् ।
नमूनाको रुपमा हेरिएको उक्त सेवा भवन अर्पण कार्यक्रममा छिमेकी मुलुक भारतका सिक्किम , दार्जिलिङ, सिलिगुडीलगायत नेपालका विभिन्न जिल्लाबाट विश्वासीजनहरुको ठूलो संख्यामा सहभागिता रहेको थियो । शुक्रवार सम्पन्न अर्पण कार्यक्रममा एक हजार बढी विश्वासीजनको सहभागिता रहेको चर्चका डिकन फादर समर वाग्लेले बताए ।


यस्तै यस सेवा भवनबारे स्थानीय राजनीतिक दल , समाजसेवी , संचारकर्मी तथा स्थानीय छरछिमेकीलाई जानकारी दिने उद्देश्यले एक कार्यक्रमका बीच सार्वजनिकीकरण गरिएको डिकन फादर राजु खडियाले बताए ।

चर्चका रेभरेन फादर भिखार जनरल चित्रकुमार रुपाचाको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रमको औचित्य तथा सेवा भवन निर्माणबारे काठमाडौ आर्क डायोसिसका आर्क विशप टाइटेस मोर ओस्थाथियोस एपिस्कोपाले जानकारी दिएका थिए ।

चर्चका जिल्ला फादर तथा भद्रपुर मण्डलीका फादर जगत वाग्लेको संचालन र डिकन फादर समर वाग्लेले स्वागत मन्तव्य गरेको कार्यक्रममा कोशी प्रदेशका निवर्तमान मन्त्री तथा झापा २ क का सांसद एकराज कार्की , बिर्तामोड नगरपालिका नगर प्रमुख पवित्रा महतारा प्रसाईं , नेकपा ( एमाले ) झापाका कार्यवाहक अध्यक्ष प्रेमबहादुर गिरी , माओवादी केन्द्र जिल्ला अध्यक्ष राजु आचार्य , बिर्तामोड खानेपानी संस्थाका अध्यक्ष मेघराज बाँस्तोलालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमका वक्ताहरुले धर्म निरपेक्ष राष्ट्रमा सबै धर्मले आफ्नो काम र सेवा स्वतन्त्र ढंगले गर्न पाउनु पर्नेमा जोड दिएका थिए । बिर्तामोड नगरकै गौरवको रुपमा निर्माण भएको यस चर्च भवन र यसका अनुयायीहरुको संरक्षण , सुरक्षा एवम् सवलीकरणमा स्थानीय सरकारले साथ दिने उनीहरुले बताए । कार्यक्रममा बिर्तामोड वडा नम्बर ४ का वडा अध्यक्ष राहुल शर्मा , मेची आँखा अस्पताल समितिका महासचिव गणेश पोखरेल , एमाले नगर अध्यक्ष सुवास भट्टराई , माओवादी केन्द्रका नगर अध्यक्ष मोहन सुब्बा तथा सचिव गणेश कालिकोटे , नगर कार्यपालिका सदस्य निर्मला गजमेर , सहकारीकर्मी भानु दंगाल , माओवादी नेता शिवराज भण्डारी , किवी कृषक तथा अग्रज विश्वासी तारमणी खतिवडा , अग्रज विश्वासी टिकाराम शिवा , ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख, प्रहरी नायव उपरीक्षक सुरज कार्कीलगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्