झापा,माघ २१ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले झापाको कमल गाउँपालिकामा रहेको प्रादेशिक आयुर्वेद अस्पताललाई प्रदेशकै मुख्य आयुर्वेद हब तथा अस्पतालको रूपमा विकास गरिने बताएका छन् । उनले अस्पताललाई स्थानीयसँगै जोड्दै रोजगार सिर्जना गर्न र भरपर्दो अस्पतालको रूपमा विकास गर्नका लागि सबै लाग्नुपर्ने जनाउँदै यस्तो बताएका हन् ।

प्रादेशिक अस्पतालको आकस्मिक निरीक्षण गर्दै कार्कीले अस्पतालको समस्याको विषयमा आफ्नो ध्यान केन्द्रित भएको जनाए। अस्पतालमा जनशक्ति र औषधिको अभाव छ । यहाँको समस्या समाधानका लागि प्रदेश सरकार तत्पर छ, उनले भने ।

मुख्यमन्त्री कार्कीले सर्वसाधारण र विपन्नहरूको सहज उपचारमा केन्द्रित हुन अस्पतालका निमित्त निर्देशक डा. सिद्धार्थ ठाकुरलाई निर्देशन दिए । विपन्न तथा पहुँच नहुनेहरूले सरल तथा सहज उपचार पाउने अवस्था सिर्जना गर्नुहोस्, मुख्यमन्त्री कार्कीले निर्देशन दिए ।

स्थानीयलाई रोजगारमा जोड्ने योजना लिएर आउन पनि उनले ठाकुरलाई निर्देशन दिएका छन् । स्थानीयहरूले स्वास्थ्य बिमाका लागि आवश्यक पहल गर्न र त्यसका लागि चाहिने उपकरण उपलब्ध गराउन माग गरेका थिए । अस्पताललाई निःशुल्क जग्गा उपलब्ध गराउने जग्गादाता रहेका स्थानीय मणि भण्डारीले अस्पतालको भौतिक संरचना मात्र ठुलो भएको तर सेवा विस्तार हुन नसकेको गुनासो मुख्यमन्त्रीसँग राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्