सासूबुहारीको सम्बन्धलाई समाजमा कहिले पनि नमिल्ने वा सँधैभरि मिलेर बस्न नसक्ने सम्बन्धको रूपमा लिइन्छ । सासू कहिले आमा हुँदैनन् र बुहारी कहिले छोरी हुँदैनन् भन्ने भनाइ यत्रतत्र सुन्न पाइन्छ । जतिसुकै शिक्षित घरपरिवारमा पनि सासूबुहारीको मनमुटाव र झैँझगडा देख्न सकिन्छ । कतिपय ठाउँमा त बिहे गरेर ल्याएको केही समयमा नै सासूससुरासँग छुट्टिएर बेग्लै बसेको पनि देखिन्छ । समाजमा कतिपय छोराबुहारीले बाध्यताले आमाबुबा पाल्नुपरेको पनि देख्न सकिन्छ ।त्यस्तै, बुहारी ल्याएर छोरा पनि टाढा भयो भन्ने गुनासो धेरै आमाबुबाबाट सुन्न पाइन्छ । यो नेपाली समाजको एउटा तितो सत्य नै हो । तर के साँच्चै सासू कहिले आमा अनि बुहारी कहिले छोरी बन्न सक्दिनन् त?

भनिन्छ, सबै आमा ममताका खानी हुन् । उनीहरूको हृदय यो संसारभन्दा पनि विशाल हुन्छ भनेर अनि संसारभन्दा पनि विशाल हृदय भएकी आमाले आफ्नो बुहारीलाई चैँ छोरी मान्न सक्दिनन् त ? र त्यस्तै हरेक छोरीको चाहना हुन्छ आफू बिहे गरेर गएको घरमा आफ्नो श्रीमान्बाट मात्रै नभएर सासू ससुरा तथा परिवारका अन्य सबै सदस्यहरुको माया र स्नेह पाउने । सासू ससुरा सबैलाई रिझाएर खुसी पारौँ भन्ने । यस्तो सोच बोकेर बिदाइ भएका छोरीले आफ्नो सासूलाई आमाजस्तो मान्न सक्दैनन् र ? बुहारी ल्याएर थोरै भएपनि आफ्नो आमाबुबालाई राहत दिउँ भन्ने चाहना बोकेको छोरो कसरी आफ्नो बुडीको कारण आफ्ना प्राणभन्दा प्यारा आमाबुबाबाट टाढिन सक्छ ।सासू र बुहारीलाई हेर्ने हाम्रो दृष्टिकोण नै त खराब भएर यस्तो भएको होइन कतै ? सासू र बुहारीबीचको सम्बन्धमा शून्य सहनशीलताले गर्दा त यस्तो भैराको छैन कतै ? आमाले घरमा गाली गर्दा चुपचाप बस्ने छोरी सासूले एक बचन रूखो बोल्दा जिन्दगीभर बिर्सनु सक्दिनन् । आमाले भनेको भए त सजिलै मुखभरिको जवाफ दिएर भए पनि चित्त बुझाउँथी होला तर, सासूलाई एक बचन जवाफ दिन सक्दिनन् अनि मनमा कुण्ठा उत्पन्न गर्दै बस्छे ।

त्यस्तै, आफ्नो छोरीको मुखभरिको जवाफ हाँसीहाँसी सुन्न सक्ने आमा आफ्नो बुहारीले ठुलो बोली गरेको सुन्न सक्दैनन् । बुहारी भएर ठुलो स्वर गर्ने भन्ने सासूको अहमता हाबी भइहाल्छ एकछिनमै । सहनशीलता कहाँ छ र अहिलेको सासू बुहारीमा ? सहन शक्ति भए पनि एकदम थोरैमा मात्रै हुन्छ आजकल, छोरीले केही भने एकछिनमै बिर्सिदिने आमाले बुहारीको चित्त नबुझेको कुरा सारा संसारलाई सुनाउँदै हिँड्ने गरेको पनि देखिन्छ भने सासूको चित्त नबुझेका कुराहरू आफ्नो माइतीमा आएर सबैलाई सुनाउने गरेको पनि देखिन्छ । यसरी आफ्नो घरको कुरा बाहिर छरपस्ट पार्दा के पारिवारिक सम्बन्ध दिगो र बलियो हुन्छ होला त ? अहँ, पटक्कै हुँदैन । किनकि परिवार नै व्यक्तिको सबैभन्दा ठुलो शक्ति अनि कमजोरी दुवै हुन्छ । परिवारलाई कमजोर बनाउन मानिसले एउटा मौका पर्खिरहेको हुन्छ, कमजोरी खोजिरहेको हुन्छ । यस अवस्थामा घरकै सासूबुहारीले एकअर्कामा इख लिएर कुरा काट्दै बाहिरी मान्छेलाई सुनाएमा त्यसबाट हुने नोक्सान त दुबै जनाले भोग्नुपर्छ नि । जति नै नराम्रो भएपनि सासूलाई अरूले नराम्रो भनेको वा नराम्रो गरेको एउटी बुहारीले कदापि हेर्न र सहन सक्दिनन् भने आफ्नो बुहारीको बारेमा नराम्रो भनेको कुनै सासूले सुन्न सक्दैनन् । दुबैजनाको मनमा अलिकति भए पनि चोट पुग्दछ ।

कतिपय घरमा दिनहुँ घरझगडा भएको देखिन्छ, सासू बुहारीबीच । सासूबुहारीको झगडामा बिचरा छोरो बीचमा परेको हुन्छ । आफ्नो आमालाई केही भनौँ आमाको मन दुख्ने अनि श्रीमतीलाई केही भनौँ अर्काको छोरो कसैगरी आफ्नो हुँदैन भन्देली भन्ने पीर । तर बाँकी जीवनभर साथ दिने श्रीमती नै भएकाले बाध्य भएर आमाबुबालाई थुम्थुम्याउदै श्रीमतीकै पछि लाग्नुपरेको कारण कतिपय आमाबुबाले छोरा टाढा भयो भनेको सुन्ने गरिन्छ समाजमा । बुहारीकै कारण घरमा बस्न नसकेर घरै छाडि हिँड्नुपरेको, बृद्धाश्रममा बस्न परेको तथा घरमै बसेर पनि विभिन्न बचन र तुच्छ व्यवहार सहेर बस्नुपरेको बुवा आमा पनि धेरै हुनुहुन्छ । सासूको कारणले नै बुहारीले कति शारीरिक र मानसिक यातना सहेर बस्नुपरेको पनि छ । अझ नेपालको तराई भेगतिर त दाइजोको निहुँमा सासू ससुरा र श्रीमान् मिलेर नै बुहारीको हत्यासम्म गर्ने गरिएको पाइन्छ । यसरी घरपरिवारकै सदस्यबीच मनमुटाव राख्ने, इख, डाह, ईष्र्या, रिसराग राख्नाले आफ्नै पारिवारिक संसार भताभुङ्ग हुन्छ नै, आफ्नो सामाजिक अस्तित्व पनि सकिन बेर लाग्दैन । एकअर्काप्रति भित्री मायाप्रेम र सद्भाव गुमेर बाहिरी देखावटीको लागि मात्रै सम्बन्ध बाँकी रहेको हुन्छ ।
एउटा घतलाग्दो कथन छ, ‘यदि आमाबुवा छोरीहरुसँग रहने हो भने उनीहरुले बृद्धाश्रम जान पर्ने नै थिएन ।’ यसको जवाफ उत्तिकै घतलाग्दो छ, ‘यदि बुहारीहरुले छोरीकै जस्तो ममता, श्रद्धा दिने हो भने बुवाआमा बृद्धाश्रम जानै पर्ने थिएन ।’अनर्थ नलगाउने हो भने यस भनाईबाट के बुझ्न सकिन्छ भने, न बुवाआमाका लागि छोरी फरक हुन्, न त बुहारी । केवल हाम्रो हेराई, सोचाई र बुझाई फरक हो ।

यही हिसाबले सासूलाई बुहारीले आफ्नै आमा ठान्ने र सासूले बुहारीलाई आफ्नै छोरी मान्ने हो भने, समस्या आउँदैन । यद्यपि हाम्रो पारिवारिक संरचनामा सासू र बुहारीबीच त्यति सुमधुर सम्बन्ध रहँदैन । जबकि घरको मियो भनेकै उनीहरु दुबै हुन् । सासू घर–परिवारका श्रद्धेय सदस्य हुन् । आस्थाकी पुञ्ज हुन् । सासूले नै हो, परिवारलाई एकढिक्का बनाएर राख्ने ।
त्यसैगरी बुहारी घरकी शोभा हुन् । बुहारी नै पारिवारिक सुखको मियो बन्न सक्छिन् । अर्थात, समग्र घरमा शान्ति, सुव्यवस्था, सुमधुर, सामिप्यता प्रदान गर्ने भनेकै सासू र बुहारी हुन् । दुबैको उपस्थितिमा घर वास्तवमै घरजस्तो हुन्छ ।

सासू–बुहारीबीच झगडाः परिवारलाई झमेला
सासूबुहारीको सम्बन्धमा जब खटपट सुरु हुन्छ, घर त बिग्रन्छ नै , दुई परिवारबीच गाँसिएको नाता पनि बिग्रन्छ । यसले परिवारका सबै सदस्यलाई मानसिक रुपमा तनाव पैदा गर्छ ।
हाम्रो वरपर समाजमा धेरै सासूबुहारी बीचमा मनमुटाव भएको देख्न सकिन्छ । कतिपय स्थितिमा त यस्तो मनमुटाव बढ्दै गएर यसले पारिवारिक कलहकै रुप पनि लिन्छ र अन्यमा छोरा बुहारीबीच नै सम्बन्धविच्छेद पनि हुने गर्छ ।
त्यसैले हामीले सासूबुहारी बीचको सम्बन्ध के साँच्चै तिक्ततापूर्ण नै हुनुपर्छ र भनेर सोच्नुपर्ने बेला आएको छ ? के सासूबुहारी बीचको सम्बन्ध आमाछोरीको जस्तो प्रगाढ बनाउन सकिँदैन ?
पक्कै पनि हरेक सासूबुहारीले एक अर्कालाई सम्मान र स्नेह गर्ने हो भने उनीहरु बीचको सम्बन्ध सुखद र आत्मिय हुन सक्छ ।

किन हुन्छ सासूबुहारी बीच झगडा ?
सुरुमा समाजको सोच यस्तो हुन्छ कि पारिवारिक झगडाको मुख्य कारण पक्कै पनि सासूको नराम्रो व्यवहार होला । झगडिया वा अनावश्यक कुरामा हस्तक्षेप गर्ने खालकी सासू छिन् होला त्यसैले सासू बुहारीबीच सम्बन्ध राम्रो भएन होला भनेर धेरैले सोच्ने गर्छन् तर, सबै अवस्थामा यस्तो हुँदैन ।
अहिलेका बुहारीहरु शिक्षित र आत्मनिर्भर हुनाको साथै असहनशील पनि हुन्छन् । बिहे गरेर आउनासाथ उनीहरु घरमा एडजस्ट हुन सक्दैनन् र परिवारका सदस्यहरुमाथि दोषारोपण गर्न सुरु गरिदिन्छन् । अहिलेको कानूनले पनि उनीहरुलाई अतिरिक्त सुरक्षा दिन्छ ।
नतिजास्वरुप धेरैजसो अवस्थामा सामञ्जस्यतामा थोरै कठिनाइ आउँदा पनि बुहारीले कानूनी बाटो अपनाउँछन् वा कानूनी उपचारको धम्की दिन्छन् । वर्षौंदेखि सासूले शान्तिपूर्ण तरिकाले राम्रोसँग चलाएको घरमा आएर बुहारीले उनलाई छुच्ची सासूको दर्जा दिन्छिन् ।
सत्य त यो पनि हो कि धेरैजसो बुहारीहरु आफ्नो हक त माग्छन् तर ,कर्तव्य निभाउँदैनन् । सासूलाई सम्मान गर्न उनीहरुलाई आउँदैन । सानो कुरा पनि सहन सक्दैनन् र बबाल मच्चाउन थाल्छन् । यसै कुरालाई लिएर उनीहरु पतिसँग झगडा गर्न सुरु गर्छन् ।
यस्तोमा सासूको दिल त दुख्छ नै । सासूलाई पनि बुहारीको रबैया ठिक लाग्दैन र उनले बुहारीलाई कडा गरिदिन्छिन् । र, बुहारी पनि के कम सासूलाई नै हमला गर्न थाल्छन् ।

गल्ती कसको ?
गल्ती सँधै बुहारीको मात्रै पनि हुँदैन । वास्तवमा युवतीहरुलाई सानैदेखि सासू तिम्रो सबैभन्दा ठूलो दुश्मन हो भन्ने कुरा सिकाइन्छ । विवाह गरेर पतिको घरमा जानुभन्दा पहिले नै कडा सासूको डर उनीहरुको दिमागमा मनोवैज्ञानिक रुपले हावी हुन्छ ।
धेरैजसो सासूको गुनासो हुन्छ कि बुहारीले मुखमुखै लागेर जवाफ दिन्छन् । यस्तोमा झगडा बढ्छ समस्या तब हुन्छ जब बुहारीका माइतीपक्षले बुहारीलाई समर्थन गरेर उनीहरुलाई भड्काउन थाल्छन् ।
धेरै जसो अवस्थामा जब बुहारीको माइतीले हस्तक्षेप गर्न थाल्छन् त्यहाँ वैवाहिक सम्बन्ध बर्बाद भएको पाइन्छ । युवतीका माइतीपक्ष उनको सपोर्टमा खडा हुन थालेपछि बुहारीले घरमा सानो कुरा पनि सहन तयार हुँदैनन् ।
यसको विपरित माइतीमा युवतीलाई आफ्नो घरमा सबैको ख्याल राख्ने, आफ्नो कर्तव्य निभाउन र सासुलाई सम्मान दिन सिकाएमा माया र स्नेह उनीहरुलाई आफै मिल्छ ।
समस्या सासूमा पनि

धेरैजसो सासूहरु आफूले भनेको सबै कुरा बुहारीले मान्नुपर्छ भन्ने स्वभावका हुन्छन् । कहिलेकाँही उनीहरु पनि गलत हुन्छन् तर आफ्नो कमजोरी लुकाउन बुहारीलाई कराउँछन् ।
अझै पनि सासूहरुले बुहारीलाई अर्काकी छोरीको रुपमा व्यवहार गर्छन् र उनीहरुलाई सँधै दबाबमा राख्न खोज्छन् । यसै कारणले पनि धेरै घरमा सासूबुहारी बीचको सम्बन्ध राम्रो हुँदैन ।
अर्को समस्या धेरै सासूहरुले आफू बुहारी हुँदा आफ्नो सासूबाट धेरै प्रताडना झेलेका हुन्छन् ।त्यसैले बुहारीलाई दुःख दिएर हैकम चलाउनुपर्छ भन्ने मान्यता उनीहरुमा अझै पनि रहेको पाइन्छ ।
निष्कर्ष
बुहारी र सासूबीचको असल सम्बन्ध पारिवारिक जीवनको एक महत्वपूर्ण भाग हो। धैर्यता, समझदारी र विश्वासले नै सम्बन्धमा घनिष्ठता ल्याउन सम्भव हुन्छ।परिवारका कुनै पनि सदस्यहरूसँगको कुराकानीमा आलोचना गर्नुहुन्न। जुन घरमा सासू बुहारीबीचमा दैनिक मनमुटाव र झैझगडा हुन्छ, त्यो घर कहिल्यै खुशी हुन सक्दैन । त्यस्तो घरमा कहिल्यै उज्यालो छाउँदैन । जहिले नि अन्धकार मात्रै हुन्छ । विवाद र झैझगडा उन्नति र प्रगतिका बाधक हुन् ।जहाँ विवाद हुन्छ, त्यहाँ विनास मात्रै हुन्छ। त्यसैलै सबैभन्दा ठूलो कुरा त सम्बन्धमा सुमधुरता ल्याउनुपर्छ । सासू र बुहारीबीचमा समुधुर सम्बन्ध रहयो भने त्यो घरमा खुशीयाली छाउँछ । सासू बुहारीमा आमा र छोरीको जस्तै माया ममता र सद्भाव देखियो भने त्यो घर आफै सभ्य र शालीन बन्दछ । घरमा सभ्यता र असल संस्कारको जन्म हुन्छ । सुन्दर विचारको निर्माण हुन्छ । पारिवारिक श्रीवृद्धि हुन्छ। आत्मियता सामिप्यता र प्रेममय भावको विकास हुन्छ । समग्रमा घर नै सुन्दर बन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्