भद्रपुर ,माघ २१ । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले झापा जिल्ला अदालतको हिजो बेलुका अवलोकन गरेका छन् ।

भारत बागडुक्राको एक कार्यक्रममा सहभागी भएर फर्कने क्रममा उनले जिल्ला अदालतको अवलोकन गरेका हुन् । अवलोकनका क्रममा प्रधान न्यायाधीश श्रेष्ठले झापा जिल्ला अदालतमा मुद्दाको चाप, फैसला लगायतका विषयमा जानकारी लिँदै न्यायाधीश तथा कर्मचारीहरुलाई छिटो छरितो तरिकाले न्याय सम्पादन गर्दै सेवाग्राहीहरुको काम गर्न निर्देशन दिएका छन् ।
सो अवसरमा झापाका मुख्य न्यायाधीश अशोककुमार बस्नेतले अदालतको वस्तुस्थितिका विषयमा अवगत गराएका थिए भने झापाका कानुन व्यवसायीहरुसंग संक्षिप्त भेटवार्ता भएको थियो ।

मुद्दाको चापका आधारमा झापा जिल्ला अदालतमा न्यायाधीशलगायतका जनशक्तिको अभाव रहेकोले पूरा गर्न झापा बारका अध्यक्ष नारायणप्रसाद भट्टराईले आग्रह गरे । उनले सर्वोच्च अदालतवाट जारी गरिएको बरिष्ठ अधिवक्ताको नियुक्तिका विषयमा बारको असहमति रहेको भन्दै ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्र बुझ्दै प्रधान न्यायाधीश श्रेष्ठले पुराना कानुन व्यवसायीको काम र मूल्यांकनका आधारमा वरिष्ठको उपाधि प्रदान गरिएको भन्दै सबै कानुन व्यवसायीहरुलाई उपाधिका लागि दरखास्त दिन आग्रहसमेत गरे ।
उनले आफ्नो कार्यकालमा न्याय क्षेत्रको सुधार गर्दै अबको ३ महिनाभित्रमा खुला प्रतिस्पर्धाका आधारमा सबै अदालतहरुमा थप न्यायाधीश पदपूर्ति गर्दै जाने समेत बताए । एशोसिएसनका पूर्व केन्द्रीय उपाध्यक्ष अशोककुमार पोखरेलले सर्वोच्च अदालतबाट बरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने सम्बन्धमा निर्धारित मापदण्ड बदर गरि सो उपाधि संविधान र कानुनसम्मत रुपमा हुनु पर्ने बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्