झापा,माघ २१ । कृषकको नयाँ प्रजातिप्रतिको आकर्षण, बढ्दो रोग किराको प्रकोपलगायतका कारण पुरानो तथा रैथाने प्रजातिको अमिलो जातका फलफूल लोप हुने क्रम बढ्दो छ तर यसैलाई नियन्त्रण गर्न धनकुटाको पारिपात्लेस्थित राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रमले सुरु गरेको फिल्ड जिन बैङ्क प्रभावकारी बन्दै गएको छ ।

अहिले विभिन्न स्थानबाट लोप भइसकेको विभिन्न प्रजातिसमेत यहाँ देख्न सकिन्छ । कार्यालयले करिब पाँच रोपनी क्षेत्रफल छुट्याएर खुला स्थानमा सङ्कलन गरिएका विभिन्न प्रजाति राखेको छ । आवश्यक परेको खण्डमा ती प्रजातिका जिन प्रयोग गरी त्यही गुण भएका तथा अन्य जातसँग मिसाएर नयाँ जातका प्रजाति विकास गर्ने गरेको छ ।

जिन बैङ्कको स्थापनापछि विभिन्न लोपोन्मुख जात जोगिनुका साथै विभिन्न नयाँ जातको विकास गर्न सहयोग पुगेको कार्यालयका वरिष्ठ कृषि वैज्ञानिक वसन्त चालिसे बताउछन् “रोग किराको प्रकोप, जलवायु परिवर्तनको असरका कारण एकातर्फ विभिन्न जात लोप हुने अवस्थामा पुगेको छ भने अर्कोतर्फ अमिलो जातका फलफूल खेतीप्रति कृषकको आकर्षणका कारण बर्सेनि नयाँ तथा उन्नत प्रजातिको माग बढ्दो छ । यस्तोमा जिन बैङ्कले एकातिर लोपोन्मुख प्रजाति संरक्षण गर्न मद्दत गरेको छ भने अर्कोतर्फ नयाँ जात विकास गर्नसमेत सहयोग पुगेको छ,” चालिसे बताउछन्  ।

धनकुटास्थित राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारिपात्लेले फिल्ड जिन बैङ्क स्थापना गरेको १२ वर्ष भयो । नेपालसहित विभिन्न देशका विभिन्न स्थानमा पाइने विभिन्न प्रजातिका अमिलो जातका फलको जिन यहाँ सङ्कलन गरी सुरक्षित गरिएको छ । यस अवधिमा विभिन्न प्रजाति अन्तर्गतका १३८ प्रकारका अमिलो जातको जिन सङ्कलन गरी सुरक्षित गरिएको कार्यालयले जनाएको छ ।

यो नेपालकै अमिलो जातको एक मात्र जिन बैङ्क हो । बढ्दो रोग किराको प्रकोप, जलवायु परिवर्तनको असर तथा नयाँ नयाँ प्रजातिको विकासले गर्दा पुरानो तथा रैथाने अमिलो जात लोप हुने अवस्थामा पुगेपछि कार्यालयले जिन सुरक्षित गरेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्