झापा,माघ २२ । झापा नाटकघरमा गत माघ १० गतेबाट मञ्चन सुरु भएको नाटक रिफण्डलाई २२ गतेसम्ममा १३ हजार बढी दर्शकले हेरेका छन् ।

यति धेरै दर्शकले हेरेको नाटकको अझै माग रहेको नाट्य प्रतिष्ठान झापाका केन्द्रीय अध्यक्ष तथा झापा नाटकघरका अभियन्ता तथा परिकल्पनाकार रंगकर्मी माधब कल्पितले जानकारी दिएका छन् ।

निर्माणाधीन झापा नाटकघरको पूर्णताका लागि पहिलोपटक झापा नाटकघरमा मञ्चन गरिएको सो नाटक कक्षा –११ को अनिवार्य अंग्रेजी पाठ्यक्रममा रहेको नाटकघरका मेनेजिङ डाइरेक्टर राजकुमार भट्टराईले जानकारी दिएका छन् । माघ २२ गतेसम्मका लागि भनेर मञ्चन सुरु गरिएको नाटक रिफण्डका लागि सोहरु अझै बुकिङ हुन थालेपछि अहिले तीन दिनका लागि नाटक लम्बिन पुगेको नाटक मञ्चन ब्यबस्थापन समितिका संयोजक ताराप्रकाश भट्टराईले बताए ।


विद्यार्थीको पाठ्यक्रममा आधारित भएकाले बिर्तामोड , अर्जुनधारा , कनकाई ,बाह्रदशी र शिवसताक्षीसम्मका विद्यालयहरु आफ्ना विद्यार्थीसहित झापा नाटकघरमा उपस्थित हुने गरेको क्षितिज साहित्य प्रतिष्ठानका अध्यक्ष तुलसीप्रसाद भट्टराईले बताए । उनले बिहान ८ बजे , ९ः३० बजे, ११ः३० बजे र २ः३० बजे गरि दिनको चार सोसम्म नाटक मञ्चन भइरहेको जानकारी दिए ।

हंगेरीका प्रसिद्ध लेखक फ्रिज क्यारेन्थिद्वारा लिखित नाटक रिफण्डलाई अनिस लुइँटेलले नेपाली अनुवाद गरेका छन् भने नाम्लो नाट्य समूह मोरङका संयोजक सुदिपजंग कार्कीले निर्देशन गरेका छन् । नाटकमा विवेक मिश्र, सुरज माझी प्रज्वल भट्टराई , बोन्बो सन्तोष, दीक्षा चौधरी ,सञ्जय मुडियारी, प्रदिप दाहालको जिवन्त अभिनय रहेको छ भने लाइट र म्युजिक सुशील कार्कीको रहेको छ ।

ब्यवहारिक र सीपमुलक शिक्षा आजको आबश्यकता भन्ने बिषयवस्तुमा केन्द्रित नाटकले हजारौं दर्शकको मन जित्न सफल भएको कल्पित बताउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्