झापा , माघ २४ । लगातार विभिन्न सामाजिक कार्य गर्दै आएको सिम्रिक बचत तथा ऋण सहकारी संस्था बिर्तामोड ४ ले आज विद्यार्थीहरुलाई स्कुल व्याग बितरण गरेको छ ।

१३ औं वार्षिकोत्सवका अवसरमा बिर्तामोड ९ स्थित शहीद लक्ष्मी आधारभूत विद्यालयका १०८ जना विद्यार्थीहरुलाई संस्थाले स्कुल व्याग वितरण गरेको हो । विपन्न वर्ग र अधिकांश आदिवासी समुदायका विद्यार्थी अध्ययनरतरत त्यस विद्यालयमा पुगेर संस्थाका अध्यक्ष सुवास भट्टराई , कार्यकारी प्रमुख कमलबहादुर बस्नेत , सचिव इन्द्रबहादुर कार्कीलगायतले सहयोग सामग्री हस्तान्तरण गरेका थिए ।यस वर्षको पाँचौ सामाजिक कार्यक्रमको रुपमा विद्यार्थीहरुलाई व्याग वितरण गरिएको कार्यकारी प्रमुख बस्नेतले बताए । उनका अनुसार यसअघि कचनकवल ४ बनियानीमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिनुका साथै बाह्रदशी १ भागुडुब्बा , बिर्तामोड ६ र ७ का ज्येष्ठ नागरिकलाई ब्लांकेट वितरण गरिएको थियो । कार्यकारी प्रमुख बस्नेतले १० हजार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्ने तयारी भइरहेको जानकारी दिए ।

सिम्रिक सहकारीले बचत र ऋणको कारोवारसंगै शिक्षा , स्वास्थ्य र कृषि क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको अध्यक्ष भट्टराईले बताए । उनले समुदाय र शेयर सदस्यको हितमा संस्थाले काम गर्दै आएको जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा बिर्तामोड ९ का वडाध्यक्ष हरिप्रसाद चम्लागाईको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक अगुवा विष्णुमाया अधिकारी कोइरालाले पनि बोलेकी थिइन् । वडा सदस्य केशव बुढाथोकी,विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद घिमिरेलगायत विद्यालय व्यवस्थापन समितिका सदस्य , अभिभावक, शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन सिम्रिकका विभागीय प्रमुख विजय बस्नेतले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्